लोड हुँदैछ...

मेनु

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, ओलीको शिलालेख राख्ने मन्त्रीको प्रतिबद्धता

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, ओलीको शिलालेख राख्ने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । नेपालमा पहिलोपटक निर्माण भएको अत्याधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ंका अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा सोमबार सुरुङमार्ग उद्घाटन गरेका हुन्।

उद्घाटनपछि मन्त्री लम्सालले नेपाल सुरुङमार्ग निर्माणको नयाँ युगमा प्रवेश गरेको बताए। ‘अब देशभर यस्ता टनेल बन्छन्। यो टनेलले हामीलाई धेरै कुरा सिकाएको छ। हामी टनेल युगमा प्रवेश गरेका छौं,’ उनले भने।

सुरुङमार्ग उद्घाटन भएपनि तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालन अनुमति दिइनेछ।

करिब तीन महिनासम्म परीक्षण सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकन गरेपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने आयोजनाले जनाएको छ। परीक्षण अवधिमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क लिइने छैन। नियमित सञ्चालन सुरु भएपछि भने सवारीसाधनको प्रकारअनुसार शुल्क लाग्नेछ।

सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ। बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

पैदलयात्री, मोटरसाइकल, स्कुटर तथा तीनपाङ्ग्रे सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ। डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई समेत सुरुङभित्र प्रवेश दिइने छैन।

निर्माण सुरु भएको करिब ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो। ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोभिड–१९ महामारी र प्राविधिक जटिलताका कारण आयोजना सम्पन्न हुन लामो समय लागेको हो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ। मुख्य सुरुङ २.६८८ किलोमिटर र सहायक सुरुङ २.५५७ किलोमिटर लामो छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको उकालो, घुमाउरो बाटो र जाम छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ। जापान सरकारको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा निर्माण भएको आयोजनामा करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ। आयोजनाका अनुसार निर्माणमा करिब १७ अर्ब, विनिमय दर तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप दुई अर्ब र जग्गा अधिग्रहण तथा मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च भएको हो।

उद्घाटनका क्रममा मन्त्री लम्सालले सुरुङमार्ग शिलान्यासका बेला राखिएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए। ओलीको नाम अंकित शिलालेख तोडफोड गरी हटाइएको भन्दै त्यसबारे विवाद हुँदै आएको छ।

मन्त्री लम्सालले हराइएको शिलालेख खोजी गरी पुनःस्थापना गर्ने प्रतिबद्धता जनाए। नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६–६७ मा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको कार्यकालमा भएको थियो। शिलान्यास ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds