इलाम । इलामको माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा संकटापन्न हिमाली कालो भालु क्यामरामा कैद भएको छ।
समुद्री सतहबाट करिब २ हजार ५ सय मिटर उचाइमा रहेको माईजोगमाई गाउँपालिका–२ र ६ को सीमावर्ती वन क्षेत्रमा हिमाली कालो भालु देखिएको हो।
वन्यजन्तुको अध्ययनका क्रममा पुगेका दुई जना फोटोग्राफरले भालुको प्रत्यक्ष अवलोकन गर्नुका साथै तस्बिरसमेत खिचेका छन्।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष एवं वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवास त्यस क्षेत्रमा वन्यजन्तुको अध्ययन तथा अभिलेखीकरण गरिरहेका छन्।
चरा तथा वन्यजन्तुको खोज, अध्ययन र अभिलेखीकरणका क्रममा आइतबार बिहान दुर्लभ हिमाली कालो भालु देखेपछि तस्बिर खिच्न सफल भएको संरक्षणकर्मी खरेलले बताए।
उनका अनुसार हिमाली कालो भालुको प्रत्यक्ष अवलोकन र तस्बिर अभिलेखीकरण हुनु थुम्केरानी क्षेत्रमा जैविक विविधता र वन्यजन्तुको सुरक्षित बासस्थान रहेको पुष्टि गर्ने महत्वपूर्ण आधार हो।
थुम्केरानी क्षेत्र उच्च पहाडी वन प्रणालीअन्तर्गत पर्ने भएकाले वन्यजन्तुका लागि उपयुक्त बासस्थानका रूपमा परिचित रहेको खरेलले बताए। अध्ययनका क्रममा त्यस क्षेत्रमा विभिन्न दुर्लभ चराका प्रजातिसमेत अभिलेखीकरण गरिएको उनले जानकारी दिए।
संरक्षणकर्मीहरूका अनुसार हिमाली कालो भालु नेपालका पूर्वदेखि पश्चिमसम्मका मध्य तथा उच्च पहाडी वन क्षेत्रमा पाइन्छ। सामान्यतया १ हजार ५ सयदेखि ४ हजार मिटर उचाइसम्मको वन क्षेत्रमा बसोबास गर्ने यो प्रजाति गर्मीयाममा माथिल्लो भेग र जाडोयाममा तल्लो भेगतिर सर्ने गर्छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले हिमाली कालो भालुलाई संरक्षणका दृष्टिले जोखिममा रहेको प्रजातिको सूचीमा राखेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।