लोड हुँदैछ...

मेनु

यी हुन् सुनसरी गोलीकाण्डका घाइतेहरू, विराटनगरका तीन अस्पतालमा उपचार हुँदै

यी हुन् सुनसरी गोलीकाण्डका घाइतेहरू, विराटनगरका तीन अस्पतालमा उपचार हुँदै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनामा गोली लागेका नौ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी घाइते भएका छन्।

गोली लागेर मृत्यु हुनेमा कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहता छन्। गम्भीर घाइते मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।

घटनामा घाइते भएका सर्वसाधारणको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, हरेराम यादव र जयप्रकाश मेहताको न्युरो अस्पतालमा उपचार भइरहेको छ। जयप्रकाश मेहताको पेटमा लागेको गोलीको शल्यक्रिया गरिएको छ। मिथलेश यादवको पेटको बायाँ भाग, अमलेश मेहताको ढाड तथा गर्दन, मिथलेश मेहताको पेटको बायाँ भाग र हरेराम यादवको देब्रे तिघ्रामा गोली लागेको छ।

त्यस्तै, रविन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र सुनिल मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ। रविन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेकाले उनलाई आईसीयूमा राखिएको छ। अमितकुमार यादवको कम्मरमुनि, सुनिलकुमार मेहताको बायाँ पाखुरा र सुनिल मेहताको देब्रे पिँडुलामा गोली लागेको छ। अमित यादवको नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको पेट र देब्रे हातमा गोली लागेको छ। उनलाई पनि आईसीयूमा राखिएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार घाइतेहरूको चोटको प्रकृति हेर्दा गोली लागेजस्तो देखिए पनि विस्तृत परीक्षणपछि मात्र त्यसबारे यकिन हुनेछ। घटनामा सुरक्षाकर्मीतर्फ इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईसहित १३ जना घाइते भएका छन्। राईको टाउकोमा गम्भीर चोट लागेको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार भिडले सुरक्षाकर्मीमाथि समेत आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले तीन र सशस्त्र प्रहरीले २२ राउन्ड हवाई फायर गरेका थिए। साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै हिँडेको समूहलाई अर्को पक्षले अवरोध गरेपछि सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएको थियो। त्यस क्रममा लाठी, ढुंगा र भाला प्रहार हुनुका साथै स्थानीयका घर, पसल तथा सवारीसाधनमा तोडफोड र आगजनीको प्रयास भएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds