विराटनगर । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार बढेको बजार सोमबार भने घटेर बन्द भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.९८ अंक, फ्लोट इन्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ३६० स्टकको ६९ हजार ८०३ पटकको कारोबारमा १ करोड ३९ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ। यसबाट ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
यस दिन एभरेस्ट कलर लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ९७ रुपैयाँ ६० पैसा बढेर ७४८ रुपैयाँ ७० पैसा पुगेको छ। कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने सर्वाधिक १३.३८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको २८ करोड रुपैयाँभन्दा बढी र रिडी पावर कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घट्दा दुई उपसमूहको परिसूचक बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ। होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढी घटेको छ।
विकास बैंक, जलविद्युत्, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। बैंकिङ र म्युचुअल फन्ड उपसमूहको परिसूचक भने सामान्य अंकले बढेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।