लोड हुँदैछ...

मेनु

आधाबाट पूरै सिलिण्डरमा जाँदा बजार बढ्यो चाप, ग्यास अभाव नहुने उद्योगीको भनाइ

आधाबाट पूरै सिलिण्डरमा जाँदा बजार बढ्यो चाप, ग्यास अभाव नहुने उद्योगीको भनाइ

विराटनगर । बजारमा ग्यासको अभाव हुन थालेको भन्दै उपभोक्तामा त्रास बढ्न थालेपछि ग्यास उद्योगीहरूले आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । ग्यास बोटलिङ उद्योगहरूले डिलरहरूलाई ग्यास स्टक नगर्न सार्वजनिक सूचना जारी गरेपछि बजारमा अभाव हुने हो कि भन्ने आशङ्का उब्जिएको थियो । तर, उद्योगीहरूका अनुसार अहिलेको समस्या ग्यासको अभाव नभई आधा सिलिण्डरबाट भरि सिलिण्डरमा परिवर्तन गर्दा उत्पन्न भएको प्राविधिक असन्तुलन मात्र हो ।

मोरङको बुढीगंगामा रहेको कोशी ग्यास उद्योगका व्यवस्थापक सचित उपाध्यायले नेपाल आयल निगमले उद्योगहरूको मागअनुसार पर्याप्त पिडिओ स्वीकृत गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार केही समयअघि भारतका केही रिफाइनरीमा लोडिङको समस्या देखिए पनि अहिले त्यो समाधान भइसकेको छ ।

ूनेपाल आयल निगमले आपूर्ति व्यवस्थापनमा पूर्ण सहयोग गरिरहेको छ । उद्योगहरूको मागअनुसार पिडिओ स्वीकृत भइरहेका छन्,ू उपाध्यायले भने, ‘सुरुका केही दिन लोडिङमा केही प्राविधिक समस्या देखिएका थिए, तर अहिले त्यो पूर्ण रूपमा समाधान भइसकेको छ । भारतका हल्दिया र दुर्गापुर रिफाइनरीहरूबाट लोड बन्द भए तापनि निगमको समन्वयमा बरौनी र पारादीपबाट लोडिङ बढाइएकाले ग्यासको आयातमा कुनै कमी छैन ।’

उपाध्यायका अनुसार अहिले बजारमा देखिएको असन्तुलनको मुख्य कारण आधा सिलिण्डरबाट पूरै (१४.२ केजी) सिलिण्डरमा जानु नै हो । सरकारले ग्यास आपूर्तिमा देखिएको संकटको समयमा आधा सिलिण्डर बिक्री गर्ने निर्णय गरेको थियो, जसलाई अहिले हटाएर पुनः भरि सिलिण्डरमा लगिएको छ । यसले गर्दा बजारमा सिलिण्डरको ‘टर्नओभर’ र उद्योगको क्षमतामा चाप परेको हो ।

उनले प्राविधिक पक्ष बुझाउँदै भने, १० हजार आधा सिलिण्डर भर्दा जम्मा ७० मेट्रिक टन ग्यास खपत हुन्छ, तर १० हजार पूरै सिलिण्डर भर्दा १४२ मेट्रिक टन ग्यास चाहिन्छ । आधा सिलिण्डर पठाउँदा बजारमा सिलिण्डरको संख्या दोब्बर जस्तो देखियो, जसले गर्दा हाम्रो लोडिङ क्षमता, उपलब्ध गाडी र रिफाइनरीको व्यवस्थापनमा चाप पर्यो । पहिले महिनामा एक पटक साटिने सिलिण्डर अहिले १०–१२ दिनमै साटिन थालेपछि उद्योगमा सिलिण्डरको चाप बढ्यो ।’

उनका अनुसार रिफाइनरीबाट ग्यास आउने क्रममा बाटोमा हुने जाम र लोडिङ स्थल परिवर्तनका कारण एक–दुई दिन ढिलो हुनु स्वाभाविक भए पनि ग्यासको मौज्दातमा समस्या छैन । उद्योगहरूले हाल थप गाडीहरू भाडामा लिएर भए पनि बजारमा ग्यास पठाउने कार्यलाई तीव्र पारेका छन् ।

विराटनगर लगायतका क्षेत्रमा दैनिक रूपमा पर्याप्त ग्यास आपूर्ति भइरहेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र नआत्तिन उद्योगीहरूले आग्रह गरेका छन् । अहिलेको यो चाप अस्थायी भएको र अबको १५ दिनदेखि एक महिनाभित्रमा बजार पूर्ण रूपमा सन्तुलित हुने व्यवसायीहरुले बताएका छन् ।

उद्योगीहरूले डिलरहरूलाई पनि ग्यास लुकाएर नराख्न र उपभोक्तालाई सहज रूपमा वितरण गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds