लोड हुँदैछ...

मेनु

सुनसरीमा गोली चल्दा सुरक्षा प्रमुखहरु जिल्लामा अनुपस्थित, निमित्तको भरमा दुबै प्रहरीको कमाण्ड

सुनसरीमा गोली चल्दा सुरक्षा प्रमुखहरु जिल्लामा अनुपस्थित,  निमित्तको भरमा दुबै प्रहरीको कमाण्ड

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति हिंसात्मक झडप हुँदा सुरक्षा प्रमुखहरु जिल्लामा अनुपस्थित रहेको खुलेको छ।

घटनाका बेला जिल्ला प्रहरी प्रमुख बिदामा थिए भने सशस्त्र प्रहरीका प्रमुख हेडक्वाटर तानिएपछि नयाँ प्रमुख थिएनन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)केशवकुमार थेबे बुबाको उपचारका लागि चार दिनदेखि बिदामा थिए। उनको अनुपस्थितिमा डीएसपी चन्द्रबहादुर खड्काले निमित्त जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए।

आइतबार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा थिए। उनको अनुपस्थितिमा एसएसपी योगेन्द्रसिंह थापाले प्रदेश प्रहरीको कमान्ड सम्हालिरहेका थिए।

सशस्त्र प्रहरीतर्फ भने सुनसरीस्थित नम्बर ४ गण इनरुवाका गणपति एसपी श्यामकुमार कार्कीलाई असार ३० गते मुख्यालय तानिएपछि उनको स्थानमा नयाँ कमान्डर पठाइएको थिएन। तस्करी नियन्त्रणमा असफल भएको आरोपमा उनलाई छानबिनका लागि मुख्यालय तानिएको थियो।

झापाका सशस्त्र प्रहरी प्रमुख एसपी अम्बिकाप्रसाद जोशीलाई पनि सोही अवधिमा मुख्यालय तानिएको थियो। तर, दुवै जिल्लामा नयाँ एसपी नपठाइँदा पूर्वी नेपालका दुई संवेदनशील सीमावर्ती जिल्लामा सशस्त्र प्रहरीको जिल्ला नेतृत्व प्रभावित बनेको थियो।

सुरक्षा स्रोतका अनुसार गृहमन्त्री र सशस्त्र प्रहरी नेतृत्वबीच सरुवा व्यवस्थापनलाई लिएर देखिएको मतभेदका कारण केही गणपतिहरूको सरुवा रोकिएको थियो। गृह मन्त्रालयले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन।

सुरक्षा जानकारहरूका अनुसार भारतसँग खुला सीमा जोडिएको सुनसरीमा सशस्त्र प्रहरी गणपति सुरक्षा व्यवस्थापनका महत्वपूर्ण कमान्डर हुन्। दैनिक सुरक्षा जोखिमको मूल्यांकन, सूचना विश्लेषण, थप जनशक्ति परिचालन, स्थानीय प्रशासनसँग समन्वय तथा आवश्यक परे बल प्रयोगको रणनीति तय गर्ने जिम्मेवारी जिल्ला सुरक्षा नेतृत्वको हुन्छ।

यस्तो अवस्थामा जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरू बिदामा रहनु र सशस्त्र प्रहरीको जिल्ला कमान्डरको पद लामो समय रिक्त रहनुले आकस्मिक संकट व्यवस्थापन र अन्तरनिकाय समन्वयमा प्रश्न उठेको सुरक्षा क्षेत्रका जानकारहरूको भनाइ छ। संभावित क्षति न्युनिकरणमा सुरक्षा संयन्त्र चुकेको भन्दै आलोचना भइरहेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले धार्मिक कार्यक्रमका क्रममा बजाइएको डिजेको आवाज र धार्मिक झण्डासम्बन्धी सामान्य विवादबाट सुरु भएको घटना भयानक भएको बताए । एक समूहले ठूलो आवाजमा डिजे बजाउँदै बोलबम यात्राको तयारी गरेपछि अर्को समुदायका युवाले विरोध जनाएका थिए। त्यसक्रममा भनाभन हुँदै विवाद ठेलाठेल र झडपमा परिणत भएको प्रशासनको भनाइ छ।

स्थिति नियन्त्रणमा लिन प्रहरी टोली घटनास्थल पुगेपनि सुरक्षाकर्मीमाथि नै आक्रमण भएपछि अवस्था थप जटिल बनेको थियो। प्रहरी निरीक्षक राकेश राईसहित सुरक्षाकर्मी घाइते भएपछि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सशस्त्र प्रहरीको टोलीमाथि समेत चारैतिरबाट ढुंगामुढा भएपछि आत्मरक्षाका लागि हवाई फायर गरिएको थियो। घटनामा एक जनाको मृत्यु हुनुका साथै प्रहरी र स्थानीय गरि २२ जना घाइते भएका छन् ।

घटनामा घाइते भएका देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएको थियो। घटनापछि प्रशासनले देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु जारी गरेको छ। तनाव नियन्त्रणका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुका साथै नेपाली सेनासमेत परिचालन गरिएको छ ।

घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनाको सत्यतथ्य छानबिन हुने र दोषीमाथि कानुनी कारबाही गरिने बताएका छन्। उनले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds