लोड हुँदैछ...

मेनु

गोलीकाण्डका घाइतेका बयान : ‘बाहिर के भयो भनेर हेर्न निस्किएको ५ मिनेटमै गोली लागेर ढलेँ’

गोलीकाण्डका घाइतेका बयान : ‘बाहिर के भयो भनेर हेर्न निस्किएको ५ मिनेटमै गोली लागेर ढलेँ’

विराटनगर । १० साउन साँझ ७ बजेतिर देवानगञ्ज–३ का २२ वर्षीय अमलेश महतोले घरमा सपरिवार बसेर खाना खाएका थिए । खाना खाएपछि सुत्ने तरखरमा रहेका उनी एकाएक बस्तीमा भएको होहल्लाले झस्किए । गाउँकै शिव मन्दिर आसपास केही भइरहेको छ भन्ने भेउ पाएपछि उनी घरबाट निस्किए । तर, घरबाट निस्किएको ५ मिनेटमै उनको शरिरमा गोली लाग्यो ।

विराटनगरस्थित न्युरो अस्पतालको जनरल सर्जरी वार्डको २ नम्बर बेडमा छटपटाइरहेका अमलेशको देब्रे छातीमा गोलीको चोट छ । ‘‘खाना खाएर सुत्न लागेको थिएँ, लाइन काटियो । बाहिर मान्छे कराएको आवाज आएपछि के रहेछ भनेर हेर्न मन्दिर पुगेँ,’’ अमलेशले अस्पतालको बेडबाट १० साउन रातको त्यो भयानक दृश्य सम्झिए, ‘‘मन्दिर पुग्दा त प्रहरीले गोली चलाइरहेको रहेछ । म तर्सिएर भाग्न खोज्दै थिएँ, तर ५ मिनेट पनि भएको थिएन, अचानक छातीमा गोली लाग्यो र म त्यहीँ ढलेँ ।’’

कक्षा १२ उत्तीर्ण गरेर बसेका अमलेश जनकलाल र शान्तिदेवीका कान्छो छोरा हुन् । साउने सोमबारको पूर्वसन्ध्यामा जल लिन जाने तयारीमा रहेको बस्तीमा यस्तो हिंसात्मक मोड आउला भन्ने उनले कल्पनासम्म गरेका थिएनन् ।
त्यही वार्डको अर्को ६ नम्बर बेडमा देवानगञ्ज–३ कै हरेराम यादव पनि पीडाले छटपटाइरहेका छन् । उनको दायाँ तिघ्रामा गोली लागेको छ । साउनको सोमबार सप्तकोशी नदीमा पुगेर जल चढाउने उनको धार्मिक संकल्प गोलीको चोटसँगै अस्पतालको बेडमा सीमित भएको छ । ‘‘रातको १० बजेतिर हामी जल लिन जाने तयारीमा थियौँ, त्यही बेला मन्दिरमा झण्डा राख्ने विषयमा विवाद भएछ,’’ हरेराम भन्छन्, ‘म पुग्दा त टायर बलिरहेको थियो । प्रहरीले पहिले दुई पटक हवाई फायर ग¥यो, त्यसपछि सोझै गोली चलायो ।’’

कप्तानगञ्ज बजारको मन्दिरमा साउने सोमबारका लागि झण्डा राख्ने विषयमा दुई समूहबीच भएको विवादले आइतबार राति उग्र रूप लिएको थियो । त्यही विवादलाई साम्य पार्न पुगेको सुरक्षाकर्मीले चलाएको गोलीले १० कक्षामा पढ्ने मिथलेश मेहतालाई पनि छोडेन ।
छोराको उपचारका लागि अस्पतालमा कुरुवा बसेका मिथलेशका बुवा दिलीप मेहता प्रहरीको कार्यशैलीप्रति आक्रोशित छन् । ‘झण्डा टाँस्ने सामान्य विषयमा झडप भएको थियो, प्रहरीले सुरुमै गोली चलाउनु पर्ने अवस्था थिएन,’’ दिलीपले भने, ‘न लाठी प्रहार भयो, न त संयमता अपनाइयो । सोझै फायर गर्दा मेरो छोरालाई गोली लाग्यो । यो प्रहरीको ठूलो कमजोरी हो ।’’

रणमैदान बनेको कप्तानगञ्ज
आइतबार रातको त्यो झडपले कप्तानगञ्जलाई रणमैदानमा परिणत गरिदियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताले ज्यान गुमाए । गम्भीर घाइते भएका उनलाई आइतबार राति ११ः२५ बजे अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीको तथ्याङ्कअनुसार झडपमा ९ सर्वसाधारण र १३ सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन् । घाइते ९ जनाकै शरीरका विभिन्न भागमा गोली लागेको छ ।
विराटनगरको न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको पेटमा लागेको गोली शल्यक्रिया गरेर निकालिएको छ । सोही अस्पतालमा उपचाररत मिथलेश मेहताको पेटको बायाँ भागमा, हरेराम यादवको देब्रे तिघ्रामा र अमलेश मेहताको ढाड र गर्धनमा गोली लागेको छ । न्युरो अस्पतालका सर्जन डा. सुदिप खनियाले एक जनाको शल्यक्रिया गरिएको र उनको शरीरबाट बुलेट भएको पुष्टि गरे । ‘‘यहाँ उपचाररत अन्य घाइतेहरूको चोट हेर्दा पनि बुलेट जस्तै देखिन्छ, विस्तृत रिपोर्ट आएपछि थप प्रष्ट हुन्छ,’’ डा. खनियाले भने ।
त्यस्तै, विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेका कारण उनलाई आईसीयूमा राखिएको छ । सोही अस्पतालमा अमित कुमार यादवको कम्मरमुनि, सुनिल कुमार मेहताको बायाँ पाखुरामा र सुनिल मेहताको देब्रे पिडुलामा गोली लागेको छ । अर्का घाइते अमित यादवको पेट र देब्रे हातमा गोली लागेकाले नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।


विवादको जड : बोलबम र डीजे
साउने सोमबारका लागि बोलबम यात्रामा निस्कन लागेको एउटा समूहले डीजे बजाएको विषयलाई लिएर आइतबार राति करिब ९ बजे दुई पक्षबीच विवाद सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवादले छोटो समयमै उग्र रूप लिँदा दुवै पक्षबाट लाठी, ढुंगा र भाला प्रहार भएको थियो । उत्तेजित भिडले स्थानीय घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोडका साथै आगजनीको प्रयास गरेपछि कप्तानगन्ज बजार क्षेत्र रणमैदान बनेको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरे पनि भिड सुरक्षाकर्मीमाथि नै जाइलागेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो । सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार नेपाल प्रहरीले ३ राउन्ड र सशस्त्र प्रहरीले २२ राउन्ड हवाई फायर गरेका थिए । झडपमा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds