लोड हुँदैछ...

मेनु

सुनसरीको हिंसाको राप मोरङमा सल्कन नदिन प्रशासनको एक्सन : संयमता अपनाउन आग्रह

सुनसरीको हिंसाको राप मोरङमा सल्कन नदिन प्रशासनको एक्सन : संयमता अपनाउन आग्रह

विराटनगर । सुनसरीको देवानगञ्जमा गएरातिदेखि चर्किएको हिंसात्मक घटनाको असर छिमेकी जिल्ला मोरङमा पर्न नदिन जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सतर्कता बढाएको छ । सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठक बसी मोरङ र विराटनगर क्षेत्रको सुरक्षा संवेदनशीलतामा ध्यान दिने निर्णय गरेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार प्रशासनले हिन्दु र मुस्लिम दुवै पक्षका प्रतिनिधिहरूलाई छुट्टाछुट्टै समयमा बोलाएर छलफल गरेको छ । छलफलका क्रममा दुवै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव भङ्ग हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

‘हामीले दुवै पक्षलाई बोलाएर शान्ति सुरक्षा भङ्ग गर्न नपाइने र कसैले कानुन हातमा लिएमा कडा कारबाही हुने स्पष्ट पारेका छौँ,’ कोइरालाले भने । उनका अनुसार कुनै पनि समस्या परेमा वा सूचना भएमा तुरुन्त प्रहरीलाई खबर गर्न र संयमित रहन आग्रह गरिएको छ ।
छलफलका क्रममा हिन्दु पक्षले सुनसरीमा आफ्ना मान्छे मारिएको भन्दै न्यायको माग गरेका थिए भने मुस्लिम पक्षले मोरङमा हिंसा नभड्कियोस् भन्ने चाहना व्यक्त गरेका थिए ।

यसैबीच, सुनसरीको घटनाको विरोधमा केही समूहले विराटनगरका बजारहरू बन्द गराएका छन् । बजार बन्द गराउने प्रयासलाई रोक्न र सुरक्षा व्यवस्था चुस्त राख्न ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ । हालसम्म कोही पनि नियन्त्रणमा नलिएको भए पनि प्रहरीले बजार क्षेत्रमा कडा निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए । प्रशासनले सर्वसाधारणलाई अफवाहको पछि नलाग्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds