लोड हुँदैछ...

मेनु

सुनसरी घटनाप्रति मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त, संयमता अपनाउन आह्वान

सुनसरी घटनाप्रति मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त, संयमता अपनाउन आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सुनसरी जिल्लाको देवांगगंज गाउँपालिकामा गएराति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले उक्त घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गसमवेदना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई आवश्यक सहयोग र समन्वयका लागि उनले आग्रह गरेका छन्।

यस्तो संवेदनशील समयमा संयमित रहन सम्पूर्ण नागरिकलाई अपिल गर्दै मुख्यमन्त्री कार्कीले अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गर्दै उनले नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएको स्मरण गरेका छन् । ‘यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा सांप्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीहरूमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको विश्वास दिलाउँदै मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि सरकार प्रतिबद्ध रहेको जानकारी गराएका छन्। त्यसैगरी, उनले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जिउधनको रक्षा गर्नसमेत अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds