इटहरी । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) र स्थानीय समुदायको सहकार्यमा इटहरीमा निर्माण भएको ‘माया घर’को नयाँ भवन हस्तान्तरण गरिएको छ।
करिब १ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण भएको साढे तीनतले भवन सोमबार आयोजित कार्यक्रममा माया घरलाई हस्तान्तरण गरिएको हो। भवन निर्माणका लागि एलसीआईएफले १ करोड ३८ लाख रुपैयाँ सहयोग गरेको थियो। बाँकी रकम लायन्स क्लब अफ इटहरी सिटी, लायन्स क्लब अफ इटहरी मनोकामना, माया घर तथा स्थानीय सहयोगबाट जुटाइएको हो।
कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले २०८१ फागुन २४ गते शिलान्यास गरेको भवन करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो। भवनमा १५ वटा कोठा छन्। प्रत्येक तलामा पाँच–पाँचवटा कोठा रहेका छन् भने प्रत्येक कोठामा तीनवटासम्म पलङ राख्न सकिने व्यवस्था गरिएको छ। प्रत्येक फ्ल्याटमा तीनवटा स्नानगृह रहेका छन्।
भवन हस्तान्तरण कार्यक्रममा लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले माया घरको अवस्था पहिलोपटक प्रत्यक्ष देख्दा आफू भावुक बनेको स्मरण गरे। आश्रितहरूको संख्या बढ्दै गएपछि उनीहरूलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक वातावरण प्रदान गर्न नयाँ भवन निर्माणको अवधारणा अघि बढाइएको उनले बताए।
उनका अनुसार माया घरमा आश्रितहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। संस्थाले २१ जना आश्रितबाट सेवा सुरु गरेकोमा हाल १२६ जनालाई आश्रय र संरक्षण प्रदान गरिरहेको परियोजना अध्यक्ष राजन खत्रीले जानकारी दिए।
लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर तथा ग्रान्ट एड्मिनिस्ट्रेटर विजयहरि शर्माले निर्धारित समयमै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। उनले परियोजना लायन्सको सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे।
भवन निर्माण समितिका संयोजक पिताम्बर पोखरेलले नयाँ भवन माया घरप्रतिको लायन्सको माया, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताए। माया घरकी अध्यक्ष शुभद्रा प्याकुरेलले भवन निर्माणमा सहयोग गर्ने लायन्स इन्टरनेसनल, एलसीआईएफ तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरिन्। उनले नयाँ भवन आश्रितहरूको जीवनमा नयाँ आशा र भरोसाको आधार बनेको बताइन्।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लिला चिमरियाले माया घरजस्ता मानवीय संस्थाको संरक्षण र विकासमा लायन्सले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। नयाँ भवनले माया घरका आश्रितलाई सुरक्षित आवास, सहज सेवा र सम्मानजनक जीवनयापनका लागि थप बलियो आधार प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
भवन हस्तान्तरण कार्यक्रममा लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर, भाइस डिस्ट्रिक्ट गभर्नर, विभिन्न स्थानीय लायन्स क्लबका पदाधिकारी तथा सदस्य, माया घरका पदाधिकारी, समाजसेवी र अन्य सरोकारवालाको उपस्थिति थियो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।