विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि सुनसरीका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवालाले निष्पक्ष छानबिन गरी सामाजिक सद्भाव कायम राख्ने साझा प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ।
बैठकले कुनै पनि व्यक्ति वा पक्षलाई कानुनभन्दा माथि नराखी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ। सहभागीहरूले जिल्लाको शान्ति–सुरक्षा मजबुत बनाउने, अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहने तथा सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन्। समुदायबीच आपसी विश्वास कायम राख्दै संयमता अपनाउन पनि सबै पक्षलाई आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनाको वास्तविकता अनुसन्धानबाट स्थापित हुने भएकाले सबैलाई कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे। बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।
देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार राति बोलबम यात्राका क्रममा सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएको थियो। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सामाजिक सदभाव र शान्ति सुरक्षा कायम गर्नका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय भएको छ । निर्णयपछि जनप्रतिनिधि र सामाजिक र धार्मिक अगुवाहरुले सामाजिक सदभाव कायम गर्नका लागि पहल सुरु गरिसकेको उनले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।