लोड हुँदैछ...

मेनु

सुनसरी घटना : सिडिओ र डीआईजीसहित सुरक्षा प्रमुखहरू फिर्ता

सुनसरी घटना : सिडिओ र डीआईजीसहित सुरक्षा प्रमुखहरू फिर्ता

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप र एक जनाको मृत्यु भएपछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घटनाको गम्भीरतालाई ध्यान दिँदै मन्त्रालयले प्रशासनिक र सुरक्षा नेतृत्वमा हेरफेर गरेको हो।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालय फिर्ता बोलाएको छ। उनको स्थानमा संखुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याललाई जिम्मेवारी दिएर पठाइएको छ।त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाउने निर्णय भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको छ भने उनको स्थानमा एसपी पुष्पराज मल्ललाई खटाइएको छ।

सशस्त्र प्रहरीतर्फ पनि कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाई उनको स्थानमा डीएसपी मदन नाथलाई पठाइएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। झडपका क्रममा २४ जना घाइते भएका छन्, जसमा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन्।

घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ।
थप हिंसा भड्किन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहान ७ बजेदेखि देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds