विराटनगर । विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) शिल भएको दुई सातापछि सोमबारबाट सञ्चालनमा आएको छ ।
अस्पतालका सञ्चालकसमेत रहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते अस्पताल शिल गरेको थियो ।
दुई सातासम्म अस्पताल सेनिटाइज गरेपछि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको स्वाब संकलन गरि पीसिआर प्रविधिबाट परीक्षण गरेपछि अस्पताललाई पूर्णरुपमा सेनिटाइज गरेर सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले जानकारी दिनुभयो । ‘अस्पताल शिल गरेपछि हामीले यहाँ कार्यरत सम्पूर्ण कर्मचारीको स्बाव संकलन गरेका थियौं,’ रिपोर्ट पोजेटिभ आउने कोभिड अस्पतालमा र नेगेटिभ आएका स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा रहेका छौं ।’
अस्पताल पूर्णरुपमा सञ्चालन गर्न आफूहरु तयार भएपनि नेपाल चिकित्सक संघ कोशी शाखाले जारी गरेको विज्ञप्तिलाई सम्मान गर्दै अर्काे सूचना जारी नभएसम्म आकस्मिक सेवा मात्र सञ्चालनमा ल्याइएको विनाडीले बताउनुभयो ।