उदयपुर । कोरोना भाईरसको संक्रमण रोक्नको लागि आन्तरिक तयारी गरेको उदयपुर सदरमुकाम स्थित त्रियुगा नगरपालिकाले लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण गरेको छ ।
लकडाउनले दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई समस्या परेका भन्दै नगरपालिकाले वडा नम्बर २ का १ सय २२ घरघुरीलाई राहत सामग्री वितरण गरेको हो ।
त्रियुगा नगरपालिकाको वडा नं. २ मोथियाही टोलका सदा समुदायका विपन्न वर्गलाई नुन, तेल, दाल र चामल वितरण गरेको वडा अध्यक्ष घमान सिंह खत्रीले जानकारी दिनुभयो । ‘टोल विकास संस्था र जनप्रतिनिधीहरुले स्थलगत रुपमा संकलन गरेका व्यक्तिहरुलाई राहत दिईएको हो ।’ प्रतिपरिवार १० केजी चामल, २ केजी दाल, १ किलो नुन र ५०० मिलि लिटर खाने तेल वितरण गरिएको छ ।
लकडाउनमा मजदुरी गर्न नपाएका विपन्न नागरिकलाई नगरपालिकाको राहतले निकै सहयोग पुर्याउने विश्वास गरिएको छ । कोरोना भाईरस विरुद्ध प्रोटेक्टिभ एम्बुलेन्स, २५ वेडको क्वारेन्टाई र जिल्ला अस्पतालमा आईसुलेसन वेड स्थापना गर्न सहयोग गरेको त्रियुगा नगरपालिकाले त्रियुगा नगर राहत कोष नै खडा गरेर नगरबासीलाई राहत उपलब्ध गराउन थालेको नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो ।
जिन्सी समान दिने चाहने सहयोगी हातहरुलाई उपप्रमुख देवी कुमारी चौधरीलाई सम्पर्क गरि दाल, चामल, नुन, तेल उपलब्ध गराउन आव्हान गरिएको छ । नगरपालिकालाई दाताहरुबाट प्राप्त भएका समानहरु क्रमशः वितरण गर्ने र अपुग भएमा नगरपालिकाले खरिद गरेर वितरण गर्ने योजना रहेको छ ।
नगरका विपन्नहरुको सबै लगत संकलन भई सकेकोले बाँकी वडामा क्रमस राहत वितरण गर्दै लगिने कार्यक्रम रहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।