लोड हुँदैछ...

मेनु

गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

विराटनगर । भारतको दार्जिलिङका चर्चित कवि मनप्रसाद सुब्बा विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत हुनुभएको छ । आरोहण गुरुकुलको मासिक काव्यारोहण शृंखलाको पाँचौं भागमा शनिबार सुब्बा प्रस्तुत हुनुभएको हो ।

कार्यक्रममा सुब्बाले ‘म कहिले बुद्ध हुनु’, ‘मुक्त उन्मुक्त मेरी आमा’, ‘मेरो शब्द’, ‘फलेको रुख जब फुल्छ’, ‘वसन्त आइपुगेको छ’, ‘मेरो दार्जेलिङ वसन्तमा’, ‘थोप्लो अर्थात् डर’, ‘जंगलको कुरा’, ‘रक्सी रक्सी जिन्दगीको’, ‘भाषण, सहर र म’, ‘नाच्दैछ आगो नाङ्गै’, ‘मेरो छोरो अनि म’, ‘ऊ आउँदैछ’, ‘बन्द दैलो’लगायत शीर्षकका डेढ दर्जन कविता वाचन गर्नुभयो । सुब्बाले आफ्ना चर्चित कविता वाचन गरिरहँदा दर्शकदीर्घाबाट स्वागत पाउनुभएको थियो ।

सन् १९५२ सेप्टेम्बरमा दार्जिलिङमा जन्मिएका कवि सुब्बाका ‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’, ‘बुख्याँचाहरूको देशमा’, ‘ऋतु–क्यानभाषमा रेखाहरू’’ ‘आदिम वस्ती’, ‘अक्षर–अर्केस्ट्रा’, ‘भुँइफुट्टा शब्दहरू’लगायत ९ वटा कवितासंग्रह प्रकाशित भइसकेका छन् । यसपटकको आफ्नो विराटनगर यात्रा चौथोपटक भएको बताउँदै सुब्बाले विराटनगरले आफूलाई सधैं माया गर्ने गरेको सुनाउनुभयो ।

कविता वाचनपछि सुब्बालाई आरोहरण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कवितासँग आमपाठक र स्रोतालाई जोड्न आरोहरणले हरेक महिनाको पहिलो शनिबार ‘आरोहण कविता यात्रा’ श्रृंखलालाई निरन्तरता दिएको कार्यक्रम संयोजक धीरज राईले बताउनुभयो ।

कविता सुुन्न प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको छ । कवि र कविताप्रतिको सम्मानका लागि स्वयम् आयोजक आरोहणका अध्यक्षले पनि टिकट काट्ने गर्नुभएको संयोजक राईले बताउनुभयो । फिल्म हेर्न मात्रै होइन कविता सुन्न पनि पैसा तिर्नुपर्छ भन्ने एउटा सन्देश यो कार्यक्रमले दिएको उहाँको भनाइ छ ।

यसअघि काव्यारोहणमा बैरागी काइँला, तुलसी दिवस, बम देवान र मोमिला प्रस्तुत हुनभएको कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । गरुकुलमा कविता सुन्न विराटनगसहित इटहरी, धरान, धनकुटा, बेलबारी र झापादेखि साहित्यानुरागीहरूको जमघट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।