हेपिएको मेरो मत

कुरोको चुरो कहाँबाट कोट्याउँ, म आफै बिलखबन्धन छु, यतिखेर । लामो समय भो, विचार स्तम्भमा कलम सिञ्चित नगरेको । तथापि लेखन कार्यले भने विश्राम लिएको थिएन र छैन पनि । अनि समाचारको सुतिखेती भने छोडिएको छैन । अझै पनि निरन्तर नै छ ।

धेरैले आफ्नो विज्ञापन गर्दा हुन्, र आफ्नो संस्थाको पनि विज्ञापन गर्दा हुन् । दुनियाँमा सबैलाई बाँच्नुछ । समय र औकात अनुसार आफूलाई सस्तो वा महंगो दरमा बेच्नुछ । सरसामान बेच्दा नाफाघाटाको हिसाबकिताब हुन्छ । आफूले आफूलाई बिक्री गर्दा के घाटा के नाफा केले पो मापन गर्ने र ?

कोही पुरस्कारमा रमाउन चाहन्छन् त कोही तिरस्कारमा रमाउन मन पराउछन् । दुनियाँको रित नै यस्तै रहेछ । कोही रातदिन चाकडीमा हाजिर बजाउँछन् त कोही अहोरात्र आफूलाई परिश्रममा लगाउँछन् । अहिले मात्र होइन पहिले पनि यस्तै चलन चल्दै आएको त हो नि । कोही बनिबनाउ फूलका मालाले सम्मानित हुन्छन्, कोही पुरस्कारको भारीले थिचिन चाहन्छन् । बजारमा अहिले यस्तै यस्तैको भाउ छ । गरिब र निमुखाको रोजीरोटी हडप्ने यिनकै दाउ छ ।

चाहे सत्तामा होस् वा प्रतिपक्षमा । सही सलामत जीवन जिउने कला र गला मिलेकै छ । नमिले दुई÷चार दिन कोकोहोला मच्चिन्छ । मिलेपछि आफै थचिन्छ । यस्तो थिति बसाल्नेहरु मापाका हुन्छन् । समाज परिवर्तनको बिगुल फुक्नेहरु तिरस्कारको शिकार भई छट्पछिरहेका छन् । ओत लाग्ने ठाउँ छैन । आङ ढाक्ने कपडा लाउँ, छैन तिनका शीर र शरीरमा ।

चटके र बुख्याचाहरुको यहाँ घच्चिको मेला लाग्ने गर्दछ । उनीहरुको जालझेलमा कयौं फसिकेको छन्, दिनहुँ । बेकामे र रमितेहरु पनि काफी भेटिन्छ, यहाँ । दिनरात बितेको थाहा हुन्न, तिनीहरुलाई । विपन्नहरु गरिबी पिएर बसेका छन् । सोधखोज गर्ने मनुवाँ पाउन गाह्रो छ, यहाँ । विपन्न र गरिबका हितमा काम गर्ने भनिएका खोइ कतिवटा सरकारहरु छन् रे, यहाँ । तिनको अत्तोपत्तो नभएझै भान हुन्छ, निर्धनहरुलाई ।

जिलिगान्टेहरु फस्टाउँदा छन्, निर्जीव वस्तु हरण गरेर । साँझबिहान उनकै दामकाम हुन्छ, अड्डा अदालतमा । हुलहुज्जत नहुँदो हो, तिनको पनि तेजहरान हुन बेर लाग्दैनथियो । सार्वजनिक सेवाको जरो मासिन लागेको अवस्थामा छ । भुइँफुट्टाहरुले विकासे फुइँ हाक्दै हिँडेको कति नसुुहाएको ! अन्नबाली तुल्याउनुको सट्टा गिटीबालुवाको खेती फस्टाउँदो छ, यहाँ । खमारमा गिटीबालुवाकै कुन्यु ठडिएका देखिन्छन्, यहाँ ।

तमासा हेर्नेहरुको पनि कमि छैन, यहाँ । पुन्टे र भुन्टीको दुर्दशा कसले बुझेको छ र ? उनीहरुको स्तर चढ्दो होइन घट्दो छ । मालिकहरु अझ धनी भएका छन् । उनीहरुको अवस्था उकालो चढ्दो छ । काला सिसाभित्र आफू सुरक्षित ठान्नेहरु दीर्घजीवी हुने दिन कहिलेसम्म हो ? अहिले नै भन्न त सकिन्न । आखिर तिनका पनि च्यानहरु एक न एक दिन त पक्कै पनि खनिने नै छन् ।

मनका धनीहरु पनि यहाँ यदाकदा नभेटिएका होइनन् । तथापि तिनका मतको कसले पो कदर गर्दो हो र ? तिनको मत नराम्रोसँग लतारिएको छ । हेपिएको छ । बढारिएको छ । तिनका पनि दिनहरु आउलान् भन्ने आशामा अझै कयांै जिउँदा मतहरु लाम लागेर ठिङ उभिएका हुँदा हुन् ।

Supported only between 1944-2022