इनरुवा । सुनसरीको दहबी स्थित १ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गणमा चार सय विरुवा रोपिएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको उपस्थितीमा आँप, लिच्ची, बयर र अनार प्रजातिका विरुवा रोपिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी यज्ञबिनोद पोखरेल, सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वाटर इनरुवाका प्रहरी नायब उपरिक्षक बालकृष्ण श्रेष्ठ सहितको उपस्थिति रहेको थियो । दुहवी गणका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार यादवका अनुसार कार्यालय परिसरभित्रको हातामा विभिन्न प्रजातिका ४ सय ७४ विरुवा रोपिएका छन् ।
एसपी यादवले कार्यालयमा रहेको जनशक्तिलाई दैनिक तालिकासँगै विरुवा गोडमेल र रेखदेखको कार्यसमेतको जिम्मेबारी तोकिएकाले सबै विरुवा हुर्कनेमा विश्वस्त रहेको बताउनुभयो । करिब १० विगाहा क्षेत्रफलमा फैलिएको कार्यालय परिसर स्वच्छ, हराभरा र प्रकृतिमैत्री बनाउने उद्देश्यसाथ वृक्षारोपण गरिएको हो ।
वृक्षारोपणसँगै बोटबिरुवाको संरक्षण गर्नसके वातावरणका साथै मानव स्वास्थ्यसमेत राम्रो हुने भएकोले यसमा ध्यान दिने गणले जनाएको छ । कार्यालयलाई प्रदेश १ कै नमुना बनाउने लक्ष रहेको एसपी यादवले बताउनुभयो ।