आयात राेकिँदा लसुनकाे मूल्य आकासियाे

काठमाडौँ / एक महिना अघिसम्म प्रतिकेजी ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको लसुनकाे मूल्य फागुनको पहिलो साता ५५ रुपैयाँले बढेर ७ सय ५ रुपैयाँ पुगेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार समितिका सूचना अधिकृत विनय श्रेष्ठले कारोना भाइरसका कारण चीनबाट आयात हुन नसक्दा लसुनको मूल्य आकासिएको बताए।

नेपालकाे आन्तरिक उत्पादनले बजारकाे माग नधान्ने भएकाेले आयातमा निर्भर हुनुपर्दा बजारमूल्य आकासिएकाे श्रेष्ठकाे भनाइ छ। ‘नेपालमा उत्पादन हुने लसुन स्थानीयस्तरमै खपत हुन्छ। जसले गर्दा बाहिरबाट आयात गर्नुपर्छ’, उनले भने।

नेपाली बजारमा चिनियाँ लसुनको खुद्रा मूल्य प्रतिकेजी औसत ७ सय ५ रुपैयाँ, अधिकतम मूल्य ७ सय १० र न्यूनतम मूल्य ७ सय रुपैयाँ पुगेको सूचना अधिकृत श्रेष्ठले जानकारी दिए।

यस्तै नेपाली लसुनको खुद्रा मूल्य औषतमा प्रतिकेजी ५ सय ३५, अधिकतम मूल्य ५ सय ५० र न्यूनतम मूल्य ५ सय २० रुपैयाँ पुगेको छ। नेपाली लसुनको औषत मूल्य थाेकमा प्रतिकेजी ४ सय ७५, अधिकतम मूल्य ४ सय ८० र न्यूनतम मूल्य ४ सय ७० रुपैयाँ रहेको छ।

चिनियाँ लसुनको थोक मूल्य औषतमा प्रतिकेजी ६ सय ५५, अधिकतम मूल्य ६ सय ६० र न्यूनतम मूल्य ६ सय ५० रुपैयाँ रहेको समितिले जनाएको छ।

भन्सार विभागकाे तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै लसुन चीनबाट आयात हुन्छ।

बिहिबार, ०८ फागुन, २०७६, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर