भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानको प्रमुख समस्याका रूपमा रहेको बाँदर आतंक नियन्त्रण गर्न बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले केन्द्र सरकारसँगको समन्वयमा यो कार्यक्रम अघि बढाउने तयारी गरेको हो।
मंगलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेशनमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान तथा बन्ध्याकरण कार्यक्रम समावेश गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। उनका अनुसार बाँदरले किसानलाई जटिल समस्यामा पार्दै आएकाले यसको दीर्घकालीन समाधानका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
गाउँपालिकाले प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ। बन्ध्याकरण विधिमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार पछिल्लो समय विभिन्न वडामा बाँदरको संख्या तीव्र रूपमा बढ्दै गएको छ। बाँदरले विशेषगरी मकै, कोदो, आलुलगायतका बालीमा ठूलो क्षति पुर्याउन थालेपछि संख्या नियन्त्रणका लागि बन्ध्याकरणको उपाय अपनाउन लागिएको हो।
कार्यक्रमको प्रारम्भिक चरणमा बाँदरको अवस्था, संख्या तथा नियन्त्रणका सम्भावित उपायबारे खोज तथा अध्ययन गर्न गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अध्ययनको निष्कर्ष र संघीय सरकारसँगको समन्वयका आधारमा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।