लोड हुँदैछ...

मेनु

जेठमा पाथीभरामा ४६ लाखभन्दा बढी भेटी सङ्कलन, ८ हजारभन्दा बढी तीर्थयात्री पुगे

जेठमा पाथीभरामा ४६ लाखभन्दा बढी भेटी सङ्कलन, ८ हजारभन्दा बढी तीर्थयात्री पुगे

ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा जेठ महिनामा मात्रै ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी रकम सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल ४ करोड ४९ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ।

समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख महिनामा मात्रै १ करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको थियो। समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा वर्षभरि स्वदेशी तथा विदेशी तीर्थयात्रीको उल्लेख्य आगमन हुने गरेको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीहरूले चढाएको भेटी रकम नेपाल प्रहरीको रोहबरमा समितिका कर्मचारीहरूले सङ्कलन गर्ने व्यवस्था छ। मन्दिर परिसरमा सङ्कलन गरिएको भेटीलाई सुरक्षित रूपमा पोका बनाएर लाहाछाप लगाई माथिल्लो फेदीसम्म ल्याइन्छ।

फेदीबाट भेटी रकम सदरमुकाम फुङलिङस्थित समितिको कार्यालयमा ल्याएर दैनिक गणना गरिन्छ। कार्यालय समयमा प्रहरीको निगरानी र सीसीटीभीको सुरक्षा व्यवस्थाबीच कर्मचारीहरूले रकम गणना गरी बैंकमा जम्मा गर्ने प्रचलन रहेको हाङबाङले जानकारी दिए।

समितिका अनुसार जेठ महिनामा ८ हजार ३ सय ८७ जना तीर्थयात्री पाथीभरा मन्दिर पुगेका छन्। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मन्दिर दर्शन गर्ने तीर्थयात्रीको संख्या १ लाख ८८ हजार ६ सय पुगेको छ।

पूर्वी नेपालको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित पाथीभरा मन्दिरमा विशेषगरी दशैं, वैशाख र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढी रहने गरेको छ। तीर्थयात्रीको बढ्दो आगमनसँगै स्थानीय पर्यटन, होटल व्यवसाय तथा रोजगारीमा समेत सकारात्मक प्रभाव परेको सरोकारवालाहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।