लोड हुँदैछ...

मेनु

रैथाने बंगुर संरक्षणको प्रयासमा अनुसन्धान कार्यक्रम

रैथाने बंगुर संरक्षणको प्रयासमा अनुसन्धान कार्यक्रम

धनकुटा । राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमले नेपालका रैथाने बंगुर जातको संरक्षण, अनुसन्धान तथा प्रविधि विकासको काम अगाडि बढाएको छ ।

आयातित नश्लको बढ्दो प्रयोगका कारण स्थानीय जात लोप हुने जोखिम बढेपछि कार्यक्रमले परम्परागत रूपमा पालिँदै आएका जातको पहिचान र प्रवर्द्धनमा ध्यान केन्द्रित गरेको हो।

धनकुटाको पाख्रीबासस्थित कार्यक्रमका संयोजक डा.मनोजकुमार साहका अनुसार बामपुड्के, हुर्रा र च्वाँचे जस्ता रैथाने बंगुर जात हाल लोपोन्मुख अवस्थामा पुगेका छन्। उनका अनुसार यी जात आर्थिक स्रोतसँगै जैविक विविधता र सांस्कृतिक पहिचानसँग पनि जोडिएका छन्, त्यसैले संरक्षणसँगै उत्पादन वृद्धि र व्यावसायिक विस्तारलाई प्राथमिकता दिइएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत सञ्चालित उक्त कार्यक्रमले विकास गरेको ‘पाख्रीबास कालो’ जातको संरक्षण र विस्तारमा पनि जोड दिइएको छ। संरक्षित प्रजनन, सन्तुलित आहार व्यवस्थापन, रोग पहिचान तथा उपचार प्रणाली र स्थानीय वातावरणअनुकूल क्षमताको अध्ययनमा अनुसन्धान भइरहेको कार्यक्रमले जनाएको छ।

कार्यक्रमका वैज्ञानिक अन्जयकुमार साहका अनुसार रैथाने जात विदेशी जातको तुलनामा उत्पादन दर केही कम भएनि दीर्घकालीन रूपमा किसानका लागि दिगो र सुरक्षित विकल्प बन्न सक्छन्। घरेलु वातावरणमा सजिलै हुर्कन सक्ने र रोग प्रतिरोधात्मक क्षमता उच्च हुने भएकाले यी जातको पुनर्जीवनमा विशेष जोड दिइएको उनले बताए।

रैथाने जातको संरक्षण तथा प्रविधि विकासका लागि किसान लक्षित तालिम, प्राविधिक परामर्श र सुधारिएको पालन प्रणाली विस्तार गर्ने काम अघि बढाइएको छ। स्थानीय स्रोतसाधनमा आधारित आहार व्यवस्थापन, खोर सुधार र स्वास्थ्य सेवामा पहुँच विस्तारमार्फत उत्पादन लागत घटाउने तथा आम्दानी बढाउने रणनीति अपनाइएको संयोजक साहले बताए।

बंगुर व्यवसाय संघ धनकुटाका अध्यक्ष रुजन राईले रैथाने बंगुर पालन प्रवर्द्धनले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।