लोड हुँदैछ...

मेनु

क्रसरमाथि अनुसन्धान सुस्त हुँदा एसियन राजमार्ग निर्माण प्रभावित

क्रसरमाथि अनुसन्धान सुस्त हुँदा एसियन राजमार्ग निर्माण प्रभावित

विराटनगर । मोरङका केही क्रसर उद्योगहरूले राजश्व हिनामिना गरेको आशंकामा सुरु भएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न नसक्दा राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम राजमार्ग विस्तार कार्य प्रभावित भएको छ ।

राजमार्ग निर्माणका लागि निर्माण सामग्रीको रुपमा अस्पाल्टलगायत गिटी, ढुंगा आदि नदीजन्य पदार्थ आपूर्ति गर्दै आएका क्रसर उद्योगहरु नै सरकारी छानविनको दायरामा परेका थिए । छानविनका लागि ती क्रसर उद्योगहरुमा ताला बन्द गरिएका कारण राजमार्गको पूर्व तथा पश्चिम खण्डमा कालोपत्रे गर्न तयारी अवस्थामा रहेको सडकको काम अगाडि बढ्न नसकेको हो ।

जिल्ला अनुगमन समितिले क्रसर उद्योग अनुगमन गरी जफत गरेर ल्याएको विवरणहरुका आधारमा राजश्व हिनामिना भएको हुनसक्ने भन्दै जिल्ला समन्वय समितिले आन्तरिक राजश्व कार्यालय विराटनगर र दमकलाई अनुसन्धान गरिदिन आग्रह गरेको थियो । तर दुई महिना बितिसक्दा पनि अनुसन्धान सकिएको छैन । जसको असर राजमार्ग निर्माणमा देखापरेको हो ।

अनुगमनका क्रममा लेटाङ–३ स्थित ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स र माँ भगवती स्टोन मिल्स, बेलबारीको कान्तिपुर वासिङको बारेमा आन्तरिक राजश्व कार्यालय विराटनगरले अनुसन्धान गरिरहेको छ भने मिक्लाजुङको देवीथान कंक्रिट उद्योग र श्री सिआरएफजी–टुण्डी जेभीले सञ्चालन गरेको अस्थाई क्रसरमाथि पनि अनुसन्धान गर्न आन्तरिक राजश्व कार्यालय दमलाई लेखिपठाएको जिल्ला समन्वय अधिकारी जानुका न्यौपानेले जानकारी दिइन् ।

राजमार्गका लागि निर्माण सामग्री उपलब्ध गराउने तीन क्रसर उद्योग नै अनसन्धानमा तानिएका कारण निर्माण सामग्री अभाव भएको हो । जसले गर्दा राजमार्गको पश्चिम खण्डको काम पूर्णतः प्रभावित भएको छ भने पूर्वी खण्डमा पनि मौज्दात रहेको सामग्री सकिँदै गएपछि निर्माण व्यवसायीहरू चिन्तित बनेका छन् । पूर्वी खण्ड (झापा तर्फ) का आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म ४५ किलोमिटर सडक मध्ये १८ किलोमिटर २५० मिटर सडक कालोपत्रे भइसकेको छ, जसमा १२.५ किलोमिटर सडक पूर्ण चौडाइमा सम्पन्न भएको छ । तर, क्रसर उद्योगहरू बन्द भएपछि नयाँ गिटीको आपूर्ति नहुँदा डिबिएम (पहिलो चरणको कालोपत्रे) सकिएपछि थप काम अघि नबढ्ने अवस्था छ । आयोजना प्रमुख पन्तले भने, “हामीसँग अब मात्र ३–४ किलोमिटर सडकलाई पुग्ने गिटीको मौज्दात बाँकी छ, त्यसैले पहिलो चरणको डिबिएमको काम जेनतेन चलाइरहेका छौं, तर अन्तिम चरणको अस्पाल्टको काम भने पूर्ण रूपमा रोकिएको छ ।”

मोरङ र सुनसरीतर्फ राजमार्गको पश्चिम खण्डमा झण्डै १५ किलोमिटर सडक कालोपत्रे गर्न तयारी अवस्था रहेको निर्माण कम्पनीका प्रतिनिधि उज्जवल प्रसाईंले जानकारी दिए । निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि उज्जवल प्रसाईंले क्रसर बन्द हुँदा नयाँ सामग्री पाउन नसकिएको र पुरानो मौज्दातले धेरै दिन नधान्ने गुनासो गरे । मोरङ खण्डमा मात्र नभई झापा खण्डमा पनि समस्या उस्तै रहेको र गिटी अभावकै कारण आस्फाल्टको काम सुरु गर्न नसकिएको उनले बताए । प्रसाईंका अनुसार असार मसान्तको चाप र वर्षाका कारण पनि केही ढिलाइ भएकोमा अहिले क्रसरको समस्याले कामलाई झनै पछाडि धकेलेको छ । निर्माण व्यवसायीहरूले गिटीको अभावसँगै अन्तर्राष्ट्रिय बजारमा विटुमिनको मूल्यमा भएको भारी वृद्धिले पनि थप लगानी गर्न र कामलाई अघि बढाउन हतोत्साहित भएको बताएका छन् । विटुमिन नपाएको भन्दा पनि यसको मूल्य अत्यधिक बढेका कारण ठेकेदारहरूले खरिदमा ढिलाइ गरिरहेका छन् ।

राजमार्ग आयोजनाले निर्माण कार्य प्रभावित हुन नदिन जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय तहहरूलाई पत्राचार गरी समन्वय र सहयोगका लागि पटक–पटक आग्रह गरेको छ । तर, तीन महिना पुग्न लाग्दासम्म कुनै पनि निकायबाट निर्माण सामग्रीको सहज आपूर्तिका लागि ठोस पहल भएको छैन । आयोजना प्रमुख पन्तले सरकारी निकायहरूबीच समन्वयका लागि पत्र पठाएको र अब जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय तहहरुले निकास दिने गरी सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘काम कसरी गर्ने’ भन्दा पनि ‘कसरी रोक्ने’ भन्ने मानसिकता राख्दा विकास निर्माणका कामहरू प्रभावित हुने गरेका छन्, हामीले सबै प्रशासनिक निकायलाई गुहारेका छौं, अब समाधानका लागि उहाँहरुले नै बाटो देखाइदिनुपर्छ ।”

यता, आन्तरिक राजश्व कार्यालय विराटनगरले भने कामको चापका कारण अनुसन्धानमा ढिलाइ भएको तर्क गरेको छ । कार्यालयका कर अधिकृतका अनुसार साउन लागेसँगै पान नम्बर दर्ता गर्न हजारौं भूमिहीन सुकुम्बासीहरुको भीड लागेका कारण सबै जनशक्ति त्यही काममा जुट्न परेका कारण अरु कुनै पनि काममा ध्यान दिन नसकिएको । कार्यालयले क्रसर उद्योगहरुको अनुसन्धान टुंगिन एक महिना लाग्न सक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds