लोड हुँदैछ...

मेनु

निष्पक्ष छानविन र संयमताको अपिल

निष्पक्ष छानविन र संयमताको अपिल

विराटनगर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको हिंसात्मक झडप र गोली प्रहारबाट एक युवकको मृत्यु भएको घटनाप्रति विराटनगरस्थित विभिन्न ६ वटा मानव अधिकार सम्बद्ध संस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानविनको माग गरेका छन्।

गत साउन १० गते राति डिजे बजाउने विषयमा भएको विवादपछि सिर्जना भएको परिस्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली प्रहारबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनाप्रति दुःख व्यक्त गर्दै अधिकारकर्मीहरूले स्थानीय प्रशासनबाट पर्याप्त संयमता र सावधानी अपनाउन नसक्दा मानव अधिकारको गम्भीर उल्लंघन भएको ठहर गरेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोग र सरकारद्वारा गठित छानविन समितिलाई सूक्ष्म र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेका छन्। उनीहरूले दोषी देखिएका जो-कोहीलाई कानुन बमोजिम कारबाही गर्न र पीडित परिवारलाई आवश्यक राहत, उपचार तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गरेका छन्।

विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्न र कुनै पनि अफवाह वा अपुष्ट सूचनाको पछि नलाग्न सबै पक्षलाई आह्वान गरिएको छ। अपिल जारी गर्नेहरूमा इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेल, मानव अधिकार सञ्जाल विराटनगरका संयोजक बासुदेव अधिकारी, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका संयोजक यज्ञ शर्मा, नर्थ साउथ कलेक्टिभ विराटनगरका अध्यक्ष दिनेश श्रेष्ठ, मानव अधिकार रक्षक सञ्जालकी संयोजक देवी बास्कोटा र महिला मानव अधिकार रक्षक सञ्जालकी संयोजक मञ्जिता उपाध्याय हुनुहुन्छ।

अधिकारकर्मीहरूले सार्वजनिक शान्ति कायम गर्ने क्रममा सुरक्षा निकायले बल प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय मापदण्ड पालना गर्नुपर्ने र नागरिकले पनि आफ्ना मागहरू शान्तिपूर्ण माध्यमबाट राख्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले कुनै पनि विवादलाई वार्ता र संवादमार्फत समाधान गरी बालबालिकालाई डररहित वातावरणमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न समेत सरकार र राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds