धरान । विजयपुर दरबार परिसरमा राई समुदायको प्रतीक चिण्डो उखालिएपछि उत्पन्न विवाद समाधानका लागि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले सरोकारवालासँग छलफललाई तीव्रता दिएका छन्।
सोमबार किरात राई यायोक्खाका प्रतिनिधिसँग छलफल गरेका बेघाले मंगलबार किरात याक्थुङ चुम्लुङ र विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समितिका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
छलफलका क्रममा बेघाले विजयपुर दरबार साझा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा भएकाले विवादको समाधान तथ्य, प्रमाण र इतिहासका आधारमा खोजिने बताए। उनले किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र संरक्षण सङ्घर्ष समितिले आ–आफ्नो संस्थागत धारणा तयार गरेपछि संयुक्त बैठकमार्फत साझा निष्कर्षमा पुग्ने जानकारी दिए।
किरात याक्थुङ चुम्लुङ र संरक्षण सङ्घर्ष समितिका प्रतिनिधिहरूले विजयपुर दरबार परिसर साझा ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षण र विकास ऐतिहासिक दस्ताबेज तथा पुरातात्त्विक प्रमाणका आधारमा हुनुपर्ने धारणा राखे। उनीहरूले दरबार क्षेत्रको व्यवस्थित संरक्षण र विकासले पर्यटन प्रवर्द्धनसँगै धरानको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताए।
संरक्षण सङ्घर्ष समितिका वार्ता टोली संयोजक अमित थेबेले चिण्डो उखालिएको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो पक्षका संरचना भत्किँदा प्रशासन मौन बसेको तर चिण्डो हटेको केही घण्टामै प्रहरी परिचालन गरिएको भन्दै असन्तुष्टि जनाए। उनले विजयपुर दरबारको संरक्षण स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा पुरातात्त्विक मापदण्डअनुसार अघि बढाउनुपर्ने माग गरे।
थेबेले साउन ४ गतेको वार्तापछि सांसद हर्क साम्पाङले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले एकपक्षीय रूपमा कुरा सुनेर दरबार क्षेत्रको भ्रमण गरेकाले विवाद झन् चर्किएको आरोप लगाए। उनले पुरातत्त्व विभागका विज्ञहरूको सहभागितामा आधिकारिक वार्ता भए मात्र दीर्घकालीन समाधान सम्भव हुने बताए।
उनले चिण्डो पुनःस्थापनालाई वार्ताको पूर्वसर्त बनाइए समाधानको प्रक्रिया अघि बढ्न नसक्ने उल्लेख गर्दै इतिहास मेटेर कुनै एक समुदायको मात्र पहिचान स्थापित गर्ने प्रयास सफल नहुने धारणा व्यक्त गरे।
किरात याक्थुङ चुम्लुङ धरान नगर अध्यक्ष तीर्थ मादेम्बाले विजयपुर दरबार क्षेत्र लिम्बुवान सभ्यतासँग जोडिएको ऐतिहासिक स्थल भएकाले यसको अभिलेखीकरण र संरक्षण आवश्यक रहेको बताए। उनले ऐतिहासिक स्थलमा अनधिकृत संरचना निर्माण तथा अतिक्रमण रोक्दै कानुनी प्रक्रियाबाट विवाद समाधान गर्न आग्रह गरे।
चुम्लुङका नगर सचिव बिप्लप थोक्लेनले विजयपुर दरबारको इतिहास लिखित दस्ताबेज र प्रमाणले पुष्टि गर्ने बताउँदै विज्ञ समूह गठन गरी दरबार क्षेत्रको संरक्षण तथा विकासको दीर्घकालीन योजना बनाउनुपर्ने धारणा राखे।
नेपाल आदिवासी जनजाति महासङ्घ धरान नगर समितिका अध्यक्ष हेमराज जिमीले चिण्डो उखालिएको घटनाको भर्त्सना गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरे। उनले सबै पक्षले ऐतिहासिक प्रमाण र दस्ताबेजका आधारमा खुला बहस गर्दै सामाजिक सद्भाव कायम राखेर विवाद समाधान गर्नुपर्नेमा जोड दिए।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।