लोड हुँदैछ...

मेनु

नागढुङ्गा सुरुङमार्ग उद्घाटनपछि श्रेय लिने होड पहिलो फाइल मेरै कार्यकालमा सदर भएको हो – झलनाथ खनाल

नागढुङ्गा सुरुङमार्ग उद्घाटनपछि श्रेय लिने होड पहिलो फाइल मेरै कार्यकालमा सदर भएको हो – झलनाथ खनाल

काठमाडौ । लामो समयदेखि प्रतीक्षा गरिएको बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन भएपछि यसको श्रेयलाई लिएर राजनीतिक वृत्तमा बहस सुरु भएको छ।

यही बीचमा पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले यस परियोजनाको वास्तविक पृष्ठभूमि सार्वजनिक गर्दै यो आफ्नो कार्यकालको दूरदर्शी संकल्प रहेको दाबी गरेका छन्।

हाल चीनको बेइजिङमा रहेका नेता खनालले सामाजिक सञ्जालमार्फत एक लामो धारणा सार्वजनिक गर्दै काठमाडौँ उपत्यकामा प्रवेश गर्ने र बाहिरिने लाखौँ नागरिकले दशकौँदेखि भोग्दै आएको सास्ती र कठिन यात्राको पीडालाई अन्त गर्न आफूले यो ऐतिहासिक काम अगाडि बढाएको उल्लेख गरेका छन्। जनजीवनलाई सहज बनाउने दूरदर्शी पूर्वाधारहरूको निर्माण अपरिहार्य हुने ठहरसहित आफूले यो योजना सुरु गरेको उनको भनाइ छ।

सुरुङमार्ग निर्माणको प्रसंग खुलाउँदै पूर्वप्रधानमन्त्री खनालले विसं २०६७ माघ २३ गते आफ्नो नेतृत्वमा सरकार गठन भई प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन पहिलो फाइल यसै सुरुङमार्ग निर्माणको फाइलमा हस्ताक्षर गरेको उनले बताएका छन् । ‘२०६७ माघ २३ मा मेरो नेतृत्वमा सरकार गठन भई प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन मैले हस्ताक्षर गरेको पहिलो फाइल यही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण थियो,’ खनालले उल्लेख गरेका छन्,’साथै, २०६७ माघ २७ गते बसेको मन्त्रिपरिषद्ले यसलाई स्वीकृत गरेको थियो। त्यसपछि २०६८ मा आयोजनालाई नीतिगत रूपमा अघि बढाउने निर्णय गरियो र आर्थिक वर्ष २०६८–६९ को बजेटमार्फत यसको कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरियो।’


वर्षौँअघि रोपेको विकासको बीज आज यथार्थमा परिणत भएको देख्दा आफूलाई गर्व र खुसी लागेको उनले बताएका छन्। आज यो सुरुङमार्ग दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको जीवन्त प्रतीकका रूपमा स्थापित भएको नेता खनालको जिकिर छ। उनले राष्ट्रको प्रगति केवल राजनीतिक परिवर्तनले मात्र सम्भव नहुने भन्दै विकासका काममा नीतिगत निरन्तरता आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds