लोड हुँदैछ...

मेनु

सुनसरीको तनाव : कहाँ खुल्यो, कहाँ कायमै छ कर्फ्यु ?

सुनसरीको तनाव : कहाँ खुल्यो, कहाँ कायमै छ कर्फ्यु ?

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि जारी गरिएको कर्फ्यु आदेश आंशिक रूपमा हटाइए पनि संवेदनशील क्षेत्रमा अझै कायम छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु मंगलबार बिहान ३ बजेदेखि हटाएको छ ।

यसअघि साउन ११ गते राति ९ बजेदेखि पूर्वमा इनरुवा–३ र ६ को सिमाना (घोपाली टोल) देखि पश्चिममा कोशी ब्यारेजसम्म तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको थियो। अहिले सो क्षेत्रको कफ्यु हटाइएको छ । घटनास्थल आसपासका संवेदनशील क्षेत्रहरूमा भने निषेधात्मक व्यवस्था कायमै छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेका छन्। यसैगरी हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रमा भने अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश कायम रहेको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार प्रभावित क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको भएपनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कर्फ्यु कायम राखिएको हो। दुई समुदायबीच आइतबार राति कप्तानगञ्जमा भएको झडपमा एक जनाके मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित टोलीले घटनास्थल र घाइतेहरूको अवस्थाबारे अध्ययन सुरु गरेको छ । विवाद समाधानका लागि प्रशासनले दुवै पक्षसँग वार्ता तथा सर्वदलीय–सर्वपक्षीय बैठकसमेत आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds