विराटनगर। नेपालको पूर्वी नाका काँकरभिट्टा भएर गत आर्थिक वर्ष २०८२/८३ मा साढे नौ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार एक वर्षको अवधिमा कुल ९ हजार ४४७ जना विदेशी नागरिक यो नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।
यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या भने समावेश गरिएको छैन। भारत बाहेक ८६ देशका नागरिकले यो मार्ग प्रयोग गरेको भए पनि सबैभन्दा बढी भुटानी पर्यटकको आकर्षण देखिएको छ। कुल भित्रिएका पर्यटकमध्ये ५३ प्रतिशत अर्थात् ४ हजार ९९४ जना भुटानी नागरिक रहेका छन्। भुटानीपछि अमेरिकाका पर्यटक धेरै छन्, जसको हिस्सा २३ प्रतिशत २ हजार १५२ जना रहेको छ।
अध्यागमन कार्यालयका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार यस नाकाबाट दैनिक सरदर २६ जना विदेशी पर्यटक भित्रिने गरेका छन्। विशेषगरी पुस र माघ महिनामा पर्यटकको चाप बढी हुने गरेको छ। भुटानमा हुने हिउँदे बिदाका कारण सो समयमा त्यहाँका नागरिक झापा र आसपासका क्षेत्रमा रहेका आफन्त भेट्न तथा खोटाङको प्रसिद्ध तीर्थस्थल हलेसी महादेवको दर्शनका लागि आउने गरेका छन्।
गत भदौमा सबैभन्दा कम २१६ जना पर्यटक भित्रिएकोमा पुस महिनामा यो संख्या बढेर १ हजार ८५० सम्म पुगेको थियो। सन् २०२४ अगस्टदेखि मात्र यस नाकामा पूर्ण रूपमा अध्यागमन सेवा सुरु भएकाले आगामी दिनमा यो नाका प्रयोग गर्ने पर्यटकको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।