विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न सामान्य विवादले हिंसात्मक रूप लिँदा सुरक्षाकर्मीको गोली लागि एक युवकको ज्यान गएको छ ।
चार दिनदेखि भुसको आगोझैं सल्किएको विवादलाई समयमै सम्बोधन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन चुक्दा आइतबार राति २४ वर्षीय ओमप्रकाश मेहताले ज्यान गुमाउनु परेको हो ।
घटनापछि उत्पन्न उत्तेजना र सम्भावित साम्प्रदायिक दंगा रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि नै सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले घटनाको गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न र घाइतेहरूको नि : शुल्क उपचार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार कप्तानगञ्ज हटिया क्षेत्रमा डिजे (ध्वनि यन्त्र) बजाउने विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो । साउनको सोमबारका लागि शिव भजनकिर्तन गर्ने तयारीमा रहेको एउटा समूहले चर्को आवाजमा डिजे बजाएपछि अर्को पक्षले विरोध गरेको थियो ।
यही विवादका बीच आइतबार राति १० बजेतिर बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर आएको समूह र अर्को पक्षबीच झडप भएको हो । स्थानीयका अनुसार चार दिनअघि नै धार्मिक झन्डा राख्ने विषयमा विवाद भए पनि प्रशासनले यसलाई गम्भीरतापूर्वक लिएर छलफल नगराउँदा स्थिति नियन्त्रण बाहिर पुगेको हो ।
बल प्रयोगमाथि प्रश्न, कम्मरमाथि गोली
झडप नियन्त्रणका लागि सुरक्षाकर्मीले २२ राउन्डभन्दा बढी हवाई फायर गरेको दाबी गरे पनि अधिकांश घाइतेलाई कम्मरभन्दा माथि गोली लागेको पाइएको छ । ज्यान गुमाउने मेहताबाहेक अन्य ९ जना सर्वसाधारण घाइते छन् । अस्पतालमा उपचाररत घाइतेहरूको कोखा, पेट र काँधमा गोली लागेको छ, जसले प्रहरीको बल प्रयोग गर्ने शैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन् । ‘त्यहाँ गोली नै चलाउनुपर्ने स्थिति थिएन, तर नागरिकमाथि निर्दयी ढंगले प्रहार गरियो,’ उनले भने । यता सुरक्षा अधिकारीहरूले भने भीड घरेलु हतियारसहित प्रहरीमाथि नै जाइलागेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको दाबी गरेका छन् ।
वर्तमान गृहमन्त्री सुधन गुरुङले पदभार सम्हालेयता तराईका जिल्लाहरूमा सुरक्षा अनुगमन तीव्र पारे पनि सुनसरीको यो घटनाले उनको दौडाहाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । तराई मामलाका जानकारहरू भन्छन्, ‘गृहमन्त्रीको छड्के र निर्देशन केवल औपचारिकतामा सीमित भयो, जमिनमुनि सल्किएको साम्प्रदायिक संवेदनशीलतालाई बुझ्न र सुरक्षा संयन्त्रलाई सोही अनुसार परिचालन गर्न गृह मन्त्रालय पूर्णतः असफल देखियो ।’
पूर्वसुरक्षा अधिकारीहरूका अनुसार यस्ता संवेदनशील क्षेत्रमा चाडपर्व वा मेलाका बेला ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व सूचना प्रणाली) सक्रिय हुनुपर्थ्यो । तर, चार दिनअघिकै विवाद थाहा पाउँदापाउँदै पनि प्रशासन ‘पर्ख र हेर’ को अवस्थामा बस्नु नै मुख्य कमजोरी रहेको उनीहरूको विश्लेषण छ ।
अबको बाटो : स्थानीय संवाद
अहिले सुनसरीका सडकमा नेपाली सेना र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । तर, सुरक्षाविज्ञहरूले केवल बलको भरमा शान्ति स्थापना नहुने चेतावनी दिएका छन् । साम्प्रदायिक विष फैलन नदिन तत्काल स्थानीय राजनीतिक दल र दुवै समुदायका अगुवाहरूलाई राखेर संवाद थाल्नुपर्दछ । हाल सुनसरीको अवस्था तनावपूर्ण तर नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ । मृतकको परिवारलाई राहत र दोषीमाथि कानूनी कारबाहीको माग गर्दै स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।