लोड हुँदैछ...

मेनु

चिकित्सकको आन्दोलन :

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

विराटनगर। नेपाल चिकित्सक संघको आव्हानमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र स्थानीय प्रशासनले गरेको दुर्व्यवहारको विरोधमा संघले देशभरका अस्पतालमा सेवा बन्द गर्ने निर्णय गरेको हो।

नारायणी अस्पतालमा गत साउन ९ गते चिकित्सकमाथि साङ्घातिक आक्रमण र अस्पताल तोडफोड भएको थियो। सोही घटनाका दोषीलाई कारबाही गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहँदा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको उपस्थितिमा चिकित्सक संघका केन्द्रीय सदस्य तथा नारायणी शाखाका अध्यक्ष लगायतमाथि प्रहरीले गालीगलौज र दुर्व्यवहार गरेको संघले जनाएको छ।

विज्ञप्ति अनुसार, साङ्घातिक आक्रमणमा परी डा. प्रमोद राम लगायतका चिकित्सकहरू गम्भीर घाइते भएका छन्। संघले दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न र चिकित्सकको मानमर्दन गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत विभागीय कारबाही गर्न माग गरेको छ।

आन्दोलनका कारण आज विराटनगरसहित देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूको ओपिडी सेवा ठप्प भएको छ। सेवा बन्द हुँदा बिरामीहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै संघले यसको पूर्ण जिम्मेवार नेपाल सरकार हुनुपर्ने बताएको छ। आन्दोलनका थप कार्यक्रमहरू भोलि हुने सर्वपक्षीय भेलापछि तय गरिने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds