लोड हुँदैछ...

मेनु

कोशीमा ८७ प्रतिशत धान रोपाइँ सम्पन्न, तराई क्षेत्रमा ९० प्रतिशत बढी

कोशीमा ८७ प्रतिशत धान रोपाइँ सम्पन्न, तराई क्षेत्रमा ९० प्रतिशत बढी

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँमा उत्साहजनक प्रगति देखिएको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार साउन ११ गतेसम्ममा प्रदेशभर कुल ८६ दशमलव ९७ प्रतिशत (करिब ८७ प्रतिशत) भूभागमा रोपाइँ सम्पन्न भएको छ। यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य प्रगति हो। गत वर्ष सोही अवधिमा प्रदेशभर ८० दशमलव ३९ प्रतिशत मात्र रोपाइँ भएको थियो।

अन्नको भण्डार मानिने कोशी प्रदेशको तराई क्षेत्र (झापा, मोरङ र सुनसरी) मा रोपाइँको अवस्था झन् राम्रो देखिएको छ। तराईका यी तीन जिल्लामा औसत ९० दशमलव ०५ प्रतिशत रोपाइँ सकिएको छ। जसमध्ये सुनसरीमा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने झापामा ८८ दशमलव ८० र मोरङमा ८८ प्रतिशत रोपाइँ भएको छ। तराईमा कुल १ लाख ९३ हजार ८४५ हेक्टर धान खेती योग्य क्षेत्रफलमध्ये १ लाख ७४ हजार ५५५ हेक्टरमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ।

जिल्लागत रूपमा हेर्दा सुनसरीपछि हिमाली जिल्ला सोलुखुम्बुमा ९४ दशमलव ०८ प्रतिशत र ओखलढुङ्गामा ९३ दशमलव ६६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस्तै, खोटाङमा ९१ दशमलव १० र मोरङ–झापामा ८८ प्रतिशतभन्दा बढी रोपाइँ भएको छ। समग्रमा कोशीको हिमाली क्षेत्रमा ७५ दशमलव १७ प्रतिशत र मध्य पहाडी क्षेत्रमा ८० दशमलव ६८ प्रतिशत रोपाइँ सकिएको छ। प्रदेशभर कुल २ लाख ७६ हजार ६४६ हेक्टर धान खेती योग्य जमिन रहेकोमा हालसम्म २ लाख ४० हजार ३७७ हेक्टरमा रोपाइँ भइसकेको छ। समयमै वर्षा भएका कारण यस वर्ष गत वर्षको तुलनामा रोपाइँको दर बढेको कृषि अधिकारीहरूको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds