लोड हुँदैछ...

मेनु

सुनसरी घटनाको त्रासले विराटनगरका विद्यालय बन्द

सुनसरी घटनाको त्रासले विराटनगरका विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा त्रासका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय र कलेज बन्द भएका छन्। सुरक्षा जोखिम तथा विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने आशंकापछि शैक्षिक संस्थाहरूले पठनपाठन स्थगित गरेका हुन्।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो। उक्त घटनामा अन्य नौ जना घाइते भएका छन्। त्यसपछि सोमबार विराटनगरमा प्रदर्शनसमेत भएको थियो।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा अवस्था र यातायातमा अवरोधको सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरूले आफ्नै निर्णयमा पठनपाठन रोकेको जनाइएको छ।

महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार विद्यालय बस सञ्चालनमा समस्या आउने सूचना प्राप्त भएपछि धेरै विद्यालयले कक्षा सञ्चालन नगर्ने निर्णय गरेका हुन्।

‘महानगरले विद्यालय बिदा दिने औपचारिक निर्णय गरेको छैन। तर बिहानैदेखि अधिकांश विद्यालय र कलेज खुलेनन्। स्कुल बस सञ्चालनमा अवरोध हुने अवस्था देखिएपछि विद्यालयहरूले पठनपाठन स्थगित गरेका हुन्,’ ढुंगेलले भने।

उता, कप्तानगञ्ज घटनापछि सुनसरीको दक्षिणी क्षेत्रका बासिन्दामा अझै त्रास कायम रहेको छ। घटनाको शोकमा देवानगञ्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्। प्रदर्शन र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै ती क्षेत्रका शैक्षिक संस्थाहरू पनि मंगलबार बन्द रहेका छन्।

यसैबीच, सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds