विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भए पश्चात कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा मङ्गलबार उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा उहाँले व्यक्तिगत आवश्यकताभन्दा प्रहरी सङ्गठनको आवश्यकता र हितलाई सर्वोपरि ठानी उच्च व्यावसायिकता, अनुशासित र जिम्मेवारीका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले सङ्गठनको उद्देश्य, लक्ष्य तथा जिम्मेवारीहरू सबै प्रहरी कर्मचारीको आपसी साथ, सहयोग, समन्वय र प्रतिबद्धताबाट मात्र प्रभावकारी रूपमा हासिल गर्न सकिने उल्लेख गर्दै संगठनप्रति समर्पित, एकताबद्ध र उत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिए ।
प्रहरी नायव महानिरीक्षक खनालले नेपाल प्रहरीले विगतदेखि नै विषम पूर्ण परिस्थितिमा समेत निरन्तर, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि आइपर्ने चुनौतीहरूको संयमता, धैर्यता, व्यावसायिक दक्षता तथा न्यूनतम क्षतिको सिद्धान्तलाई आत्मसात् गर्दै सफलतापूर्वक सामना गरी लक्ष हासिल गर्न निर्देशन दिए । उनले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएका लक्ष्यहरू समयमै सम्पादन गर्न सबै शाखाहरूले योजनाबद्ध, नतिजामुखी, चुस्त, दुरुस्त तथा प्रभावकारी ढङ्गबाट कार्य गर्नुपर्नेमा विशेष जोड दिदैँ सेवा प्रवाहलाई अझ पारदर्शी, उत्तरदायी, गुणस्तरीय तथा नागरिकको विश्वास अभिवृद्धि हुने गरी दैनिक कार्य गर्न निर्देशन दिए ।
उनले प्रहरीको दर्जा मात्र ठुलो कुरा होइन, नजानेको कुरा सिक्न जो बाट पनि सकिन्छ, समय सापेक्ष प्रहरी सङ्गठनको हितको निम्ति हुने राय सल्लाह, सुझाव भए जो कोहीबाट समेत आफूले ग्रहण गर्ने सम्पूर्णमा अवगत गराए । साथै सोही क्रममा उनले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पूर्ण शाखाहरुको निरीक्षण तथा अनुगमन समेत गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले कोशी प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था, अपराध नियन्त्रण, अनुसन्धान, सेवा प्रवाह लगायत विविध विषयमा प्रदेश प्रहरी प्रमुखलाई प्रस्तुतीकरण मार्फत अवगत गराएका थिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।