विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विराटनगरका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मंगलबार अस्पताल पुगेकी छन् ।
मन्त्री मेहताले विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर घाइतेहरूको उपचारका बारेमा जानकारी लिएकी हुन् ।
उनले अस्पतालका चिकित्सक र प्रशासनसँग छुट्टाछुट्टै छलफल गर्दै उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिइन् ।
घाइते र उनीहरूका परिवारसँगको भेटका क्रममा मन्त्री मेहताले सरकार पीडितको उपचार र सुरक्षाप्रति संवेदनशील रहेको बताइन् । ‘अप्ठ्यारो परिस्थितिमा सरकार तपाइँहरूकै साथमा छ,’ उनले भनिन्, ‘गम्भीर घाइतेहरूको उपचारका लागि मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको छ, आवश्यक सबै सहयोग र सहजीकरण हुनेछ ।’
देवानगञ्ज घटनालगत्तै स्वास्थ्य मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाएको थियो । मन्त्रालयले सम्बन्धित अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।
मन्त्री मेहताले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत विवरण लिँदै उपचार प्रक्रियालाई प्रभावकारी बनाउन र कुनै समस्या भए तत्काल मन्त्रालयमा जानकारी गराउन समेत आग्रह गरिन् । मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त भएदेखि नै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि सबै संयन्त्र परिचालन गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।