इटहरी । नमुना कलेजले इटहरीमा सोमबारदेखि सुरु भएको हिसान कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा भएको उद्घाटन खेलमा नमुनाले नमुना विश्वआदर्श कलेजलाई ४ रनले पराजित गरेको हो।
जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुना कलेजले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो। नमुनाका लागि गुञ्जन दाहालले २७ रनको योगदान दिए भने आदित्य विकले २१ रन जोडे। विश्वआदर्शका बलर आर्यन चौधरीले २ विकेट लिँदा सन्देश भण्डारीले १ विकेट लिए।
९५ रनको विजयी लक्ष्य पछ्याएको नमुना विश्वआदर्श कलेज ७ विकेटको क्षतिमा ९० रनमै सीमित हुन पुग्यो । विश्वआदर्शका लागि पल सिग्देलले १७ रन र सकुशल श्रेष्ठले १६ रन बनाए पनि अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।
नमुनाका बलर राजु विक र सुदीप खत्रीले समान २–२ विकेट लिए। खेलको म्यान अफ द म्याच आदित्य विक घोषित भए।
सोमबार नै सम्पन्न दोस्रो खेलमा इनरुवाको स्मल हेभन स्कुलले इटहरीको पूर्वाञ्चल सेकेण्डरी स्कुललाई ४९ रनले पराजित गरेको छ। हिसान सुनसरीको १२ औँ स्पोर्ट्स मिटअन्तर्गत सञ्चालन भइरहेको हिसान कप क्रिकेट प्रतियोगितामा सुनसरीका ८ वटा कलेज सहभागी छन्।
कलेजस्तरीय क्रिकेट प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताले कलेजस्तरीय खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै क्रिकेटप्रतिको आकर्षण थप्ने अपेक्षा आयोजकले लिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।