काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी तालमेलको प्रस्ताव गरिएको भन्ने समाचारको खण्डन गरेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बिहीबार एक प्रेस नोट जारी गर्दै सञ्चार माध्यममा आएका त्यस्ता समाचारहरू निराधार र असत्य भएको स्पष्ट पारेका हुन् ।
बिहीबार काठमाडौँबाट प्रकाशित केही पत्रपत्रिका र अनलाइन सञ्चार माध्यमले संयोजक प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भनी समाचार सम्प्रेषण गरेका थिए ।
प्रचण्डका प्रमुख स्वकीय सचिव आचार्यले भने, ‘केही सञ्चार माध्यमले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुटा समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ ।
सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले हालसम्म कुनै किसिमको कुराकानी नगरेको प्रष्ट पारेको छ । सम्बन्धित पक्षसँग पुष्टि नै नगरी एकपक्षीय रूपमा प्रवाह गरिएका यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न पनि प्रचण्डको सचिवालयले सबैमा आग्रह गरेको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।