लोड हुँदैछ...

मेनु

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा रिट दर्ता

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। रिटमाथिको सुनुवाइ बिहीबार हुने भएको छ।

बुधबार दायर गरिएको रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ। रिटमा पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरीले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई आवश्यक पक्राउ पुर्जी जारी गरी मंगलबार काठमाडौं ल्याइएको थियो।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ। यसअघि सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टको सेयर कारोबारसँग जोडेर पौडेलमाथि अनुसन्धान अघि बढाइएको हो।

मंगलबार विशेष अदालत काठमाडौंमा उपस्थित गराइएका पौडेललाई अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। त्यसलगत्तै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।