विराटनगर । भारतीय चिया बोर्डको नयाँ मापदण्डका कारण केही समयदेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुरु भएको छ । तर, चिया क्षेत्रका व्यवसायी तथा सरोकारवालाहरूले भने अहिलेको निर्यात परीक्षणकै चरणमा रहेको र पूर्ण रूपमा सहज हुन अझै केही दिन कुर्नुपर्ने बताएका छन् ।
मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार भन्सार प्रक्रियामा नेपाल र भारत दुवैतर्फ कुनै समस्या छैन । उनले केही गाडी चिया भन्सार हुँदै भारततर्फ प्रस्थान गरिसकेको जानकारी दिए । ‘भन्सार राजस्व र प्रशासनिक प्रक्रियामा कुनै अवरोध छैन, हिजो एक गाडी र आज पनि केही गाडी चिया भारततर्फ प्रस्थान गरेको छ,’ न्यौपानेले भने, ‘नयाँ व्यवस्था अनुसार प्रयोगशाला परीक्षणको प्रक्रिया पहिलेभन्दा केही सहज भएको बुझिएको छ ।’
चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले नयाँ व्यवस्था अन्तर्गत चियाको निर्यात परीक्षणका रूपमा सुरु गरिएको बताए । ‘हामीले परीक्षणका लागि केही गाडी चिया पठाएका छौँ । भारतीय भन्सार पार गरेपछि त्यहाँको प्रयोगशाला परीक्षणको नतिजा कस्तो रहन्छ, त्यो कुराले स्पष्ट हुनेछ,’ उनले भने ।
चिया सहकारी संघका अध्यक्ष हर्क तामाङले भने चिया निर्यात साविक जस्तै पूर्ण सहज भइनसकेको भन्दै अहिले नै उत्साहित भइहाल्ने अवस्था नरहेको बताए । विगतमा एउटा नमुना परीक्षणले लामो समयसम्म काम गर्ने गरेकोमा अहिले थोरै गाडीका लागि पनि छुट्टै परीक्षण गर्नुपर्ने व्यवस्थाले निर्यातलाई झन्झटिलो बनाएको उनको भनाइ छ । ‘चिया जान त थालेको छ, तर पहिलेको जस्तो सजिलो अवस्था होइन,’ तामाङले भने, ‘अहिले पठाइएका गाडीहरूको नमुना रिपोर्ट कति दिनमा आउँछ र भारतीय पक्षले कस्तो व्यवहार गर्छ, त्यो हेर्न बाँकी छ । त्यसैले वास्तविक अवस्था बुझ्न अझै केही दिन पर्खनुपर्ने देखिन्छ ।’
यस्तै, चिया निर्यातकर्ता शिवकुमार गुप्ताले हाल मेची भन्सार क्षेत्रबाट चिया भारततर्फ जान थाले पनि विराटनगर नाकाबाट भने सुरु नभएको स्पष्ट पारेका छन् । गत मे १ देखि भारतीय चिया बोर्डले लागू गरेको स्ट्याण्डर्ड अपरेटिभ प्रोसिड्युअर अनुसार प्रत्येक गाडी चियाको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण गर्नुपर्ने र यसका लागि महँगो शुल्क तिर्नुपर्ने व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको थियो । हाल सुरु भएको यो परीक्षण निर्यातले केही आशा जगाए पनि यसको दीर्घकालीन सहजताका लागि सरकारी तथा निजी क्षेत्रले भारतीय पक्षको आगामी कदमलाई हेर्नुपर्ने बताएका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।