लोड हुँदैछ...

मेनु

निर्देशन नमानेपछि कांग्रेस मोरङ–६ का सभापति तामाङको जिम्मेवारी खोसियो

निर्देशन नमानेपछि कांग्रेस मोरङ–६ का सभापति तामाङको जिम्मेवारी खोसियो

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ का सभापति देवराज तामाङबाट सदस्यता अध्यावधिकसम्बन्धी जिम्मेवारी खोसिएको छ।

पार्टीको निर्देशन अवज्ञा गर्दै सदस्यता अध्यावधिक प्रक्रियामा असहयोग गरेको आरोपमा केन्द्रीय नेतृत्वले उक्त जिम्मेवारी पूर्वसांसद चुमनारायण तबदारलाई दिएको हो।

तामाङले पार्टी सदस्यता अध्यावधिक गर्ने काममा सहयोग नगरेको, पटक–पटकको निर्देशन बेवास्ता गरेको तथा स्वयंले समेत आफ्नो सदस्यता अध्यावधिक नगरेको भन्दै जिम्मेवारी हेरफेर गरिएको कांग्रेसले जनाएको छ। तामाङ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट मानिन्छन्।

अब क्षेत्र नम्बर–६ मा सदस्यता अध्यावधिकको काम चुमनारायण तबदारले गर्नेछन् । वडा तहका क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गर्ने प्रक्रियामा अवरोध भएपछि पार्टीले काम अघि बढाउन जिम्मेवारी परिवर्तन गरेको हो।

यद्यपि, क्षेत्रीय सभापति देवराज तामाङले आफूलाई हटाइएको भन्ने दाबी अस्वीकार गरेका छन्। आफू अधिवेशनबाट निर्वाचित सभापति भएकाले कसैले हटाउन नसक्ने उनको भनाइ छ।

‘म निर्वाचित सभापति हुँ, मलाई हटाएको कुनै आधिकारिक पत्र आएको छैन,’ तामाङले भने, ‘बजारमा चल्ने हल्लाको पछि म लाग्दिनँ। सोमबार जिल्लाको बैठक बस्दा पनि त्यस्तो कुनै निर्णय भएको जानकारी छैन।’

नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाईंले पनि निर्वाचित पद खोस्न नसकिने स्पष्ट पारे। तर, पार्टीले दिएको जिम्मेवारी पूरा नगर्दा जिम्मेवारी हेरफेर गर्न सकिने उनले बताए।

‘यो पद खोसेको विषय होइन, सदस्यता अध्यावधिक गर्ने जिम्मेवारी मात्र फेरिएको हो,’ चापागाईंले भने, ‘क्षेत्र नम्बर–६ ले सदस्यता इन्ट्री नगरेकाले पार्टीको काम अघि बढाउन नयाँ व्यवस्था गरिएको हो। अधिवेशनले चुनेको पद केन्द्र वा जिल्लाले सिधै हटाउन सक्दैन, तर, निलम्बन वा जिम्मेवारी फेरबदल गर्न सक्छ।’

पार्टीभित्र सदस्यता अध्यावधिकलाई लिएर देखिएको विवादले मोरङ–६ मा कांग्रेसको आन्तरिक असन्तुष्टि थप सतहमा आएको छ। हाल सदस्यता व्यवस्थापनलाई केन्द्रमा राखेर नेतृत्वले हस्तक्षेप बढाएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।