विराटनगर । भोजपुरमा कार्यरत एक सब–इन्जिनियरमाथि निर्माण कार्यको अनुगमन गर्ने क्रममा कुटपिट भएको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार भोजपुर–मानेभञ्ज्याङ–वैकुण्ठ–रानीटार सडक खण्डको तेस्रो प्याकेज अन्तर्गतको निर्माण कार्यको रेखदेख र सुपरभिजनका लागि खटिएका सब–इन्जिनियर आनन्द साहमाथि कामदारहरूको समूहले सामूहिक आक्रमण गरेको हो।
कार्यालय प्रमुख रेड्डीका अनुसार सोमबार सब–इन्जिनियर साह सडक खण्डमा भइरहेको संरचना (वाल) निर्माण कार्यको अनुगमनका लागि पुगेका थिए। अनुगमनका क्रममा उनले कामदारहरूलाई काम गुणस्तरीय गर्न र गुणस्तरहीन काम भएमा भुक्तानीमा समस्या आउन सक्ने भन्दै सचेत गराएका थिए।
सोही विषयलाई लिएर आक्रोशित बनेका कामदारहरूको समूहले सब–इन्जिनियर साह अर्को साइटतर्फ जाँदै गर्दा बाँसको भाटा लिएर पछि लागेका थिए। उनीहरूले साहमाथि ‘हामीलाई भुक्तानी नदिने को होस् ?’ भन्दै सामूहिक रूपमा निर्घात कुटपिट गरेका थिए।
कुटपिटबाट सब–इन्जिनियर साह गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको र ५ वटा टाँका लगाइएको कार्यालय प्रमुख रेड्डीले जानकारी दिए। स्थानीय अस्पतालमा प्राथमिक उपचार गराइए पनि स्वास्थ्य अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ।
कार्यालय प्रमुख राजनराज रेड्डीले राष्ट्रसेवक कर्मचारीमाथि कार्यक्षेत्रमै भएको यस किसिमको आपराधिक घटनाको घोर भर्त्सना गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयमार्फत घटनामा संलग्न दोषीहरूलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्। कार्यक्षेत्रमा कर्मचारीहरूको सुरक्षा प्रत्याभूति नभएमा विकास निर्माणका कामहरू अघि बढाउन नसकिने र यसले समग्र पूर्वाधार विकासका योजनाहरूमा गम्भीर असर पर्ने उनले बताएका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।