लोड हुँदैछ...

मेनु

माइतीघरबाट निकोलस भुसाल पुनः पक्राउ, जेन–जी प्रदर्शनकारीलाई प्रहरीले हटायो

माइतीघरबाट निकोलस भुसाल पुनः पक्राउ, जेन–जी प्रदर्शनकारीलाई प्रहरीले हटायो

विराटनगर । राजधानीको माइतीघर मण्डलामा आन्दोलनका लागि भेला भएका ‘जेन–जी’ समूहका प्रदर्शनकारीहरूलाई प्रहरीले तितरबितर पारेको छ । सो क्रममा अभियन्ता निकोलस भुसालसहित केही युवाहरूलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा र सर्वपक्षीय सरकार गठन लगायतका माग राखेर मिराज ढुंगाना, रविकिरण हमालसहितका युवाहरू ‘संयुक्त आन्दोलन’ को ब्यानरमा माइतीघरमा उत्रिएका थिए । प्रदर्शनमा केही घाइते व्यक्तिहरू समेत सहभागी हुन पुगेका थिए ।

प्रशासनको अनुमतिबिना कार्यक्रम आयोजना गरिएको भन्दै प्रहरीले प्रदर्शनकारीहरूलाई मण्डलाबाट हटाउन खोजेपछि स्थिति केही बेर तनावपूर्ण बनेको थियो । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल समेत भएको थियो । निषेधित क्षेत्र र अनुमति विनाको भेला भन्दै प्रहरीले निकोलस भुसालसहितका युवाहरूलाई गाडीमा हालेर नियन्त्रणमा लिएको हो । भुसाल यसअघि पनि पटक–पटक विभिन्न प्रदर्शनका क्रममा पक्राउ पर्दै र छुट्दै आएका थिए ।

आन्दोलनकारीहरूले भने शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउनुपर्ने अधिकारमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । पछिल्लो समय मिराज ढुंगाना र रविकिरण हमालको नेतृत्वमा जेन–जी पुस्ताका युवाहरूले वर्तमान सरकारको विकल्प खोज्दै सडक आन्दोलनलाई तीव्रता दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds