इलाम । भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण चिया निर्यात ठप्प भएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योगहरू तीन बुँदे सहमति पश्चात् पुनः सञ्चालनमा आउने भएका छन्।
सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलबाट उद्योग सञ्चालन गर्ने सहमति जुटेको हो।
सहमतिकामा निर्यात सहज नहुन्जेल गोदाममा थन्किएको करिब १० लाख किलोग्राम चिया भण्डारण गर्न नगरपालिकाले व्यवस्थित भण्डार कक्षको व्यवस्थापन गर्ने, बजार सहज नहुन्जेल किसानको भुक्तानी उद्योगले केही समयका लागि थाती राख्ने र चियाको गुणस्तर सुधारका लागि विषादी पूर्ण रूपमा प्रतिबन्ध गरी नगरपालिका, उद्योगी र किसानको सहभागितामा सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
भारतले मे १ देखि लागू गरेको नयाँ नियम अन्तर्गत प्रत्येक गाडीको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन १५ दिन लाग्ने र प्रतिगाडी भारु ११ हजार ५०० शुल्क लाग्ने झन्झटिलो व्यवस्थाका कारण नेपाली चिया निर्यातमा ठूलो समस्या उत्पन्न भएको थियो। उद्योग बन्द भएपछि किसानले दैनिक ६० देखि ७० गाडी हरियो चिया झापाका सीटीसी उद्योगमा बेचिरहेका थिए।
नेपालमा वार्षिक करिब १५ हजार ६०० मेट्रिक टन चिया उत्पादन हुने गरेकोमा ८६ प्रतिशत हिस्सा भारत निर्यात हुने गर्दछ। नेपालका कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया खेती गरिन्छ । जसमा १५ हजार बढी कृषक र करिब ६० हजार मजदुर आश्रित छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।