विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। आफ्नै बारीमा उम्रिएको खैरो रङको जंगली च्याउको तरकारी खाएपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो।
बुधबार बिहान करिब १०ः३० बजे उर्लाबारी–१ की ५३ वर्षीया प्रेमकुमारी राई, उनकी ५९ वर्षीया अमाजु दिदी पुनम भुजेल र १४ वर्षीय नाति सिमोन राई बिरामी परेका हुन्। प्रेमकुमारीले बारीमा उम्रिएको जंगली च्याउको तरकारी पकाएर खुवाएकी थिइन्।
बिरामी परेका तीनै जनालाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।
घटनाबारे थप जानकारी संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। जंगली च्याउ विषालु हुन सक्ने भएकाले पहिचान नभएका च्याउ सेवन नगर्न चिकित्सक तथा सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।