काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी टी–२० विश्वकपको ट्रफी टुरको तालिका सार्वजनिक गर्दै नेपाललाई पनि समेटेको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइने भएको हो। आईसीसीका अनुसार ट्रफी टुरअन्तर्गत एसियाली देशहरूमा आयोजक राष्ट्र भारत र श्रीलङ्कासहित नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा ट्रफी लगिनेछ।
तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहलाई प्रतियोगिताकै कठिन समूहमध्ये एक मानिएको छ। नेपालको समूहमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, टेस्ट राष्ट्र बङ्गलादेश र युरोपेली टोली इटाली रहेका छन्।
नेपालले टी–२० अन्तर्राष्ट्रियमा इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक प्रतिस्पर्धा गर्नेछ। नेपालले समूह चरणका आफ्ना सबै खेल भारतको मुम्बईमा खेल्ने तालिका रहेको छ। इटालीले युरोप क्षेत्रको छनोटमा स्कटल्यान्ड जस्तो बलियो टोलीलाई पछि पार्दै नेदरल्यान्ड्ससँगै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। नेपालले भने यसअघि सन् २०१४ र सन् २०२४ को टी–२० विश्वकप खेलिसकेको छ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेका छन्।
प्रतियोगिताको प्रारूप अनुसार प्रत्येक समूहका शीर्ष दुई टोली ुसुपर आठु मा प्रवेश गर्नेछन्। सुपर आठलाई दुई समूहमा विभाजन गरिनेछ र त्यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।