काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बिचमा १५ जनाको ज्यान जाने गरी भएको बीभत्स गोलीकाण्डको मुख्य योजनाकार र आक्रमणकारी भारतीय नागरिक भएको पुष्टि भएको छ।
यहुदीहरूको पर्व ‘हनुक्का’ मनाइरहेका मानिसहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गर्ने व्यक्ति भारतको तेलंगना राज्यस्थित हैदरावादका ५० वर्षीय साजिद अक्रम रहेको अष्ट्रेलियाली प्रहरीले जनाएको छ। यो घटनालाई अष्ट्रेलियाको पछिल्लो तीन दशककै सबैभन्दा ठुलो ‘मास सुटिङ’ ९सामूहिक गोलीकाण्ड० मानिएको छ।
आतङ्ककारी साजिद अक्रमको जरो भारतको हैदरावादसँग जोडिएको खुलेको छ। उनले हैदरावादबाटै बी.कम सम्मको अध्ययन पूरा गरेका थिए। सन् १९९८ को नोभेम्बरमा विद्यार्थी भिसामा रोजगारीको खोजी गर्दै उनी अष्ट्रेलिया पुगेका थिए।
अष्ट्रेलियामा लामो समय बसेर त्यहीँकी युरोपेली मूलकी महिलासँग विवाह गरी स्थायी बसोबास गरे पनि साजिदले अष्ट्रेलियाली नागरिकता लिएका थिएनन्। उनीसँग अझै पनि भारतीय पासपोर्ट नै रहेको तथ्य बाहिर आएको छ।
अष्ट्रेलियामा बस्दै आए पनि साजिदको भारतसँगको सम्पर्क टुटेको थिएन। पछिल्लो २७ वर्षमा उनी ६ पटक भारत पुगेका थिए। ‘इन्डियन एक्सप्रेस’को रिपोर्ट अनुसार, साजिद अन्तिम पटक सन् २०२२ मा भारत गएका थिए। सम्पत्ति र पारिवारिक कारण देखाउँदै उनी भारत गइरहन्थे। यद्यपि, इसाई महिलासँग विवाह गरेको भन्दै भारतमा रहेका उनका परिवारले भने उनीसँग सम्बन्ध तोडिसकेको दाबी गरेका छन्।
भारतीय नागरिक साजिदले यस जघन्य अपराधमा अष्ट्रेलियाली नागरिक रहेका आफ्ना २४ वर्षीय छोरा नाविद अक्रमलाई पनि सामेल गराएका थिए। प्रहरीको जवाफी कारबाहीमा मुख्य योजनाकार साजिदको मृत्यु भएको छ भने उनका छोरा नाविद घाइते अवस्थामा पक्राउ परेका छन्।
घटनास्थलमा भेटिएको उनीहरूको गाडीबाट प्रहरीले प्रतिबन्धित आतङ्कवादी संगठन इस्लामिक स्टेटका दुईवटा झण्डाहरू बरामद गरेको छ, जसले उनीहरू उक्त आतङ्कवादी संगठनसँग आबद्ध रहेको वा प्रभावित रहेको संकेत गरेको छ।
अनुसन्धानका क्रममा आक्रमणको करिब एक महिनाअघि (१ नोभेम्बरमा) साजिदले भारतीय पासपोर्ट प्रयोग गरेर छोरासहित फिलिपिन्सको भ्रमण गरेको खुलेको छ। उनीहरू त्यहाँ इस्लामिक अतिवादीहरूको गढ मानिने ‘दावो’ शहरमा पुगेर आक्रमणको योजना र तयारी गरेको आशंका सुरक्षा निकायले गरेको छ।
यस भयानक आक्रमणमा १५ जना निर्दोषको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्। घाइते हुनेहरूमा ३ जना भारतीय विद्यार्थीहरू समेत रहेको पुष्टि भएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।