लोड हुँदैछ...

मेनु

लिग-२ सिरिजको अन्तिम खेलमा युएईसँग जितको खोजी गर्दै नेपाल

विराटनगर । नेपाली क्रिकेट टोलीले यूएईमा जारी लिग २ क्रिकेटको शृंखलामा लगातार तीन हार बेहोरिसकेको छ । गएको जुनमा स्कटल्यान्डमा भएको लिग २ शृंखलामा राम्रो प्रदर्शन गरेको टोलीले भर्खरै सम्पन्न टी–२० विश्वकप छनोटमा शानदार प्रदर्शन गरेको भएपनि ओडिआई तर्फ भने खेलको लय सम्हालिएको छैन ।

अमेरिका र यूएईसँग सुरुवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले तेस्रो खेलमा अमेरिकासँग अलि सुधारिएको प्रदर्शन गरेपनि जित भने निकाल्न सकेन ।पछिल्लो तीन खेलमा भएको हारले नेपाललाई एकदिवसीय मान्यता जोगाउनै कठिन पर्ने अवस्थामा पुर्याउने खतरा उत्पन्न गरिदिएको छ ।

एकदिवसीय खेलमा स्कटल्याण्डबाट लय समातेको भएपनि टि–२० को तयारीका लागि वन डे अभ्यास छोड्दा पछिल्लो सिरिजमा नेपालले राम्रो गर्न नसकेको देखिन्छ । टी–२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा लिग २ को जारी शृंखला खेलिरहेका छन् । अधिकांश खेलाडी निरन्तर खेलमा सक्रिय नै रहेको हुँदा नेपालका लागि ती खेलाडीहरूको लय राम्रो हुनु फाइदाको विषय रहेपनि मैदानमा भने स्थिति फरक देखिएको छ ।

सुरुवाती २ खेलमा नेपाललाई विपक्षी टोलीले ‘आउटप्ले’ नै गरेका थिए । त्यसपछिको तेस्रो खेलमा केही सुधारिएको प्रदर्शन भएपनि जित भने नेपालको पोल्टामा पर्न सकेन ।

नेपालको ब्याटिङ नै मुख्य कमजोरीको रूपमा देखियो, जुन् ब्याटिङ यसअघिको शृंखलामा परिपक्क भनेर बुझिएको थियो । नेपालको मध्यक्रममा बलियो प्रदर्शन हुन नसक्दा पहिलो खेलमा १०६ रनको फराकिलो हार बेहोरेको थियो । बाँयाहाते स्पीनर हर्मित सिंहको बलिङमा ब्याटरहरू टिक्नै सकेका थिएनन् ।

दोस्रो खेलमा नेपालले मध्यम योगफल खडा गरेको भएपनि कप्तान रोहित पौडेलको शतकबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । यूएईले २३४ रनको लक्ष्य आरामले पूरा गर्‍यो ।

त्यस्तै नेपालको डेथ बलिङ पनि कमजोर देखिएको छ । यसअघिकै समस्याका रूपमा रहँदै आएको डेथ बलिङले नेपाललाई बारम्बार सताउँदै आएको छ ।

तेस्रो खेलमा नेपालले अन्तिम १० ओभरमा ७१ रन डिफेन्ड गर्न सकेको थिएन । त्यसअघि पनि नेपालले अमेरिकाको मध्यक्रममा बनेको साझेदारी तोड्न सकेको थिएन । फलस्वरुप अमेरिकाले १ ओभर अगावै २७३ रनको लक्ष्य पूरा गरेको थियो ।

पहिलो खेलमा पनि नेपालले अमेरिकाविरुद्ध अन्तिम १० ओभरमा ९१ रन बेहोरेको थियो र जम्मा १ विकेट मात्र निकालेको थियो । त्यही खेलमा नेपालको नेपालको ब्याटिङ पनि ‘कोल्याप्स’ हुँदा फराकिलो हार बेहोर्‍यो ।

कप्तान रोहित पौडेलले शृंखलामा ब्याटिङको फिनिसिङ राम्रो हुन नसक्दा हार बेहोरेको बताए । उनले अन्तिम खेलमा जित निकाल्दै २ अंक जोड्ने लक्ष्य रहने बताएका छन् ।

लिग २ तालिकामा १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको नेपालले सबै ४ खेल जितेमा पनि अंकतालिकामा १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्ने थियो ।

तर नामिबियालाई उछिन्न पनि नेपालले अब कम्तीमा अर्को शृंखला कुर्नुपर्ने भइसकेको छ । लगातार तीन हारपछि अब नेपाल यूएईबाट सान्त्वना जितका साथ २ अंक लिएर फर्किने उद्देश्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।