इटहरी । कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि इटहरी रंगशालामा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका करिब १ हजार ७ सय खेलाडी सहभागी भएका छन्।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गरेका हुन्।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधामा प्रतिस्पर्धा भइरहेको बोर्डका सदस्य सचिव बिप्लव घोषले जानकारी दिए। प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौंमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउनेछन्।
उनका अनुसार सोमबार सम्पन्न हुने प्रदेशस्तरीय छनोटपछि उत्कृष्ट खेलाडी छनोट गरी सोही दिन राष्ट्रिय प्रतियोगिताका लागि बिदाइ गरिनेछ। कोशी प्रदेशबाट १ सय १५ सदस्यीय टोली राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सातै प्रदेशका ६ सय ६० भन्दा बढी खेलाडी सहभागी हुनेछन्।
प्रतियोगिताको पहिलो दिन एथलेटिक्सतर्फ विभिन्न स्पर्धाका नतिजा सार्वजनिक भएका छन्। छात्रा १५०० मिटर दौडमा मोरङकी मन्दिरा महतारा प्रथम, धनकुटाकी एनिशा थापा द्वितीय र तेह्रथुमकी अरुणा लिम्बू तृतीय भइन्।
छात्र १५०० मिटर दौडमा ताप्लेजुङका अमिर लिम्बू प्रथम, पाँचथरका समिर आङदेम्बे द्वितीय तथा ओखलढुंगाका गुणराज दाहाल तृतीय भए।
छात्रा १०० मिटर दौडमा मोरङकी विनिशा रिजाल प्रथम, झापाकी संगीता रसाइली द्वितीय र झापाकै अस्मिता लाम्गादे तृतीय भइन्। छात्रतर्फ झापाका सुवास दर्जी प्रथम, सुनसरीका नितेश गच्छदार द्वितीय र मोरङका सुवेक थापा तृतीय भए।
त्यसैगरी छात्र सटपुट थ्रोमा धनकुटाका डेविट लिम्बू प्रथम, ताप्लेजुङका दिलिप लिम्बू द्वितीय र तेह्रथुमका दिनेश परियार तृतीय भए। छात्रा सटपुट थ्रोतर्फ झापाकी सिम्रन राई प्रथम, पाँचथरकी सुस्मिता सिवु द्वितीय तथा संखुवासभाकी मनिषा राई तृतीय भइन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।