इटहरी । कोशी प्रदेश खेलकुद विकास बोर्डमा नयाँ पदाधिकारी नियुक्तिपछि प्रदेशस्तरीय खेलकुद गतिविधिले पुनः गति लिन थालेको छ।
बोर्डको आयोजनामा कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण आइतबार र सोमबार इटहरीस्थित प्रदेशिक रंगशालामा सञ्चालन हुने भएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बोर्डले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका टोलीको सहभागिता रहने जानकारी दिएको छ। प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो र उसु गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ। करिब १ हजार ७ सय खेलाडी तथा अफिसियल सहभागी हुने जनाइएको छ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा हुने १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन्।
बोर्डका सदस्य सचिव बिप्लव घोषका अनुसार प्रशिक्षकसहित ११५ सदस्यीय टोलीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछ। उनले बोर्डमा करिब आठ महिनासम्म सदस्य सचिव नियुक्ति हुन नसक्दा प्रदेशस्तरीय प्रतियोगिता समयमै आयोजना हुन नसकेको बताए।
नयाँ नेतृत्व आएपछि प्रतियोगिता आयोजना हुन लागेको उल्लेख गर्दै उनले यसले केही समयदेखि सुस्त बनेको प्रदेशको खेलकुद गतिविधिलाई पुनर्जीवित गर्ने विश्वास व्यक्त गरे।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।