विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता, ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२’, आजदेखि शिवसताक्षीस्थित दुधे रङ्गशालामा सुरु हुँदैछ।ृबङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले वर्षा भएपछि प्रतियोगिता दुई दिन पछि सारिएको हो। यसअघि प्रतियोगिता शनिबार, कार्तिक १५ गतेदेखि आरम्भ हुने तय भएको थियो।
प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
यस प्रतियोगितालाई नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप मानिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार प्रदान गरिनेछ भने अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ। प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु १५ हजार प्रदान गरिनेछ।
प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोलीको सहभागिता रहनेछ।

