इटहरी । जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सुनसरीका दुई जना मृतकका परिवारले १९ दिनपछि सरकारी राहत पाएका छन् ।

इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका अभिषेक श्रेष्ठ र मोहन सरदारको परिवारलाई सरकारी राहत रकम प्रदान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

मृतक दुवै युवाका परिवारको बैंक खातामा संघीय तथा प्रदेश सरकारबाट आएको राहत र क्षतिपूर्ति रकम पठाइएको हो । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मृतक परिवारका लागि राहत स्वरुप १० लाख र क्षतिपूर्तिबापत ५ लाख गरी १५ लाख रुपैयाँ गृह मन्त्रालयबाट प्राप्त भएको थियो ।

कोशी प्रदेश सरकारबाट १ लाख रुपैया किरिया खर्चबापत जिल्ला प्रशासन कार्यालयमा आइपुगेको थियो । दुबै सरकारबाट प्राप्त रकम सम्बन्धित पिडित परिवारलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

सुनसरीको रामधुनी नगरपालिकाको तित्रिबना स्थायी घर भई इटहरीमा बस्दै आएका २३ बर्षीय श्रेष्ठ र इटहरी १४ पूर्बी गैसार घर भएका सरदार परिवारको काजक्रियामा बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले पनि सहयोग गरेकाक थिए ।

यसैबीच जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते भक्तपुर ठिमी प्रहरीले गोली चलाउँदा मृत्यु भएका धरान उपमहानगरपालिका– ५ आँपटार चौरका साजन मेवाहाङको परिवारलाई भने राहत रकम प्रदान गर्न केही दिन समय लाग्ने भएको छ । साजनको श्रीमती सहित बाबुआमा र दाईको समेत दुई बर्षअघि मृत्यु भएको थियो । दुई जना नाबालक छोराहरु मात्र रहेकाले इलाममा रहेका उनीहरुको आफन्त भेला गराई राहत रकम प्रदान गरिने मिश्रले जानकारी दिए ।

साजनले भक्तपुरमा डेरा गरी दुई नाबालक छोरा हुर्काइरहेका थिए । उनको निधनपछि बालकहरूको बिचल्ली भएको छ । साजनको किराँत मेवाहाङ योखोम्माले आर्थिक संकलन गरी दाहसंस्कारको काम सम्पन्न गरिदिएको थियो ।