लोड हुँदैछ...

मेनु

सङ्खुवासभामा पहिरोले तीन घर विस्थापित

सङ्खुवासभामा पहिरोले तीन घर विस्थापित

सङ्खुवासभा । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभामा तीन घर विस्थापित भएका छन्। सभापोखरी गाउँपालिका र खाँदबारी नगरपालिकाका तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार शनिबार आएको पहिरोले सभापोखरी गाउँपालिका–१ धुपुका धनबहादुर विश्वकर्मा र शान्तिराम पोखरेलका चार–चार सदस्यीय परिवार विस्थापित भएका छन्। विश्वकर्माको दुईतले घरको पछाडिको भाग पहिरोले भत्काएको छ भने पोखरेलको घर पनि उच्च जोखिममा परेको छ।

यस्तै, खाँदबारी नगरपालिका–६ खानीडाँडामा पहिरोको जोखिम बढेपछि यारबहादुर तामाङको ६ सदस्यीय परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

फेरि पहिरो जान सक्ने सम्भावना देखिएपछि स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए। हाल विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

पहिरोका कारण सभापोखरी–१ धुपुमा खेतीयोग्य जमिनसमेत पुरिएको छ। राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारीमा रहेको खेत पहिरोले कटान तथा पुरेको प्रहरीले जनाएको छ।

धुपु प्रहरी चौकीबाट खटिएको टोलीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ। विस्थापित परिवारलाई राहत उपलब्ध गराउन जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।